काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन्।
आइतबार काठमाडौंमा तेस्रो लगानी सम्मेलनको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै यस अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई आह्वान गरे।
प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको उल्लेख गरे।
नेपाल उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जिकिर गरे।
लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको उनको भनाइ छ।
प्रधानमन्त्री प्रचण्डले हालैमात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको सम्मेलनमा जानकारी गराए।
नेपालमा शान्ति र स्थायित्व कायम भइ आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना भएको उल्लेख गर्दै प्रचण्डले संघीय शासन प्रणालीले सामाजिक र आर्थिक रूपान्तरणलाई बढावा दिने सन्तुलित विकास दृष्टिकोण सुनिश्चित गरेको बताए।
नेपालले अवलम्बन गरेका उदार नीतिले प्राथमिकताका क्षेत्रमा विदेशी लगानीलाई प्रोत्साहन गर्ने प्रचण्डले विश्वास व्यक्त गरे।
प्रधानमन्त्री प्रचण्डले नेपालमा भएका दक्ष जनशक्ति र कम श्रम लागत पनि अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि आकर्षण हुने बताए।
Leave a Reply