
फाइल तस्बिर
काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल प्रधानमन्त्रीका लागि दमको बिरामीजस्तै हर्याकहर्याक गरिरहेको टिप्पणी गरेका छन्।
एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले एकीकृति समाजवादीका अध्यक्ष नेपालप्रति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन्।
‘अहिले पनि तपाईंहरूले देखिराख्नुभएको छ, एक जना मान्छे कराउँदै हिँडेका छन्, मलाई प्रधानमन्त्री हुन आँट्यो भनेर केही मान्छेलाई पीर परेको छ, पोल्या छ भत्भत भनेर, कता प्रधानमन्त्री हुन आँटेको हो? म त कहीँ पनि देख्दिनँ,’ ओलीले भने,‘उनलाई आफैंलाई त्यस्तो लागिरहेको छ, प्रधानमन्त्री हुन आँटे भन्ने। अरूले मन पाएका छैनन् भन्ने कस्तो थाहा नपाएको?’
प्रधानमन्त्री हुन आँटेकाले अरूले आफूलाई मन नपराएकोसमेत थाहा नभएको ओलीको भनाइ छ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले केही दिनअघि पार्टीनिकट अनेमासंघको एक कार्यक्रममा प्रधानमन्त्री हुन लाग्यो भनेर केहीलाई भत्भतति पोलेको बताए।
उनले भनेका थिए,‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थालेको छ। तिनीहरूलाई पोले पोलोस्। दनदनी आगोले पोलिदियोस्।’
नेपालको यही टिप्पणीप्रति लक्षित गर्दै एमाले अध्यक्ष ओलीले ‘नेपालको प्रधानमन्त्री बन्ने चाहनामा सोम शर्माको ‘सातुको कथा’’ तुलना गर्दै प्रधानमन्त्री हुने सपना चाहनामात्र रहेको बताए।
Leave a Reply