काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
आइतबारदेखि काठमाडौंमा सुरू भएको तेस्रो लगानी सम्मेलनमा बोल्दै उनले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानीका लागि आग्रह गरे।
नेपालमा अधिकांश क्षेत्रहरूमा लगानीको सम्भावना रहेको बताउँदै ढकालले नेपाल नयाँ लगानीको गन्तव्य बन्नसक्ने उल्लेख गरे।
नेपालमा लगानीको सहज वातावरण बन्दै गएको उल्लेख गर्दै अध्यक्ष ढकालले नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरूमा लगानीको सम्भावना रहेको बताए।
हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत व्यापार सम्झौताले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पु¥याउने उनको भनाइ छ।
महासंघको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको ढकालले बताए।
महासंघको पहलमा दुईपक्षीय लगानी फ्रेमवर्क तयार भइ मन्त्रीपरिषदबाट पारित भइसकेको जानकारी गराउँदै उनले यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरणमा निर्माण पुग्ने विश्वास व्यक्त गरे।
अध्यक्ष ढकालले विदेशी लगानी पुँजी र प्रविधि भित्र्याउनमात्र नभइ मुलुकभित्र राजस्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउँदै आर्थिक विकास र समृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक रहेको बताए।
Leave a Reply