जनकपुरधाम- प्रधानमन्त्री बनेको १० वर्षपछि नरेन्द्र मोदीले पुनः सत्तामा पुग्ने उद्देश्य राखेका छन्।
उनी भारतको राजनीतिमा कसरी एक दशकभरि छाइराख्ने मुख्य नेता बन्न सफल भए?
धेरै मतदाता मोदीले सन् २०१४ मा पदभार सम्हालेयता भारतको स्थितिमा सुधार आएको ठान्छन्। तर, के आफ्नो जीविकाकाक लागि संघर्ष गर्ने मानिसहरूले यो निर्वाचनमा उनलाई समर्थन गरिरहेका छन् त?
शिव जोहरी पटेल वाराणसीको दक्षिणी क्षेत्रमा बस्छन्। यो मोदीको निर्वाचन क्षेत्र हो। साडी बुन्ने काम गर्ने पटेलसँग चिन्ता गर्नुपर्ने धेरै कुरा छन्।
तर, आफ्नो मत कसले पाउँछ भन्नेबारे उनी प्रष्ट छन्।
‘मोदीले धेरै राम्रो काम गरेका छन्। यसअघिका अन्य सरकारले गरिब जनतालाई यति कल्याणकारी सुविधा दिएको हामीले देखेका थिएनौं,’ उनी भन्छन्।
पटेल आफ्नो छोराले रोजगारी नपाएको गुनासो गर्छन्। केन्द्र सरकारको कल्याणकारी कोषमार्फत हुने भुक्तानीमा स्थानीय बिचौलियाले बदमासी गरिदिएको समेत बताउँछन्।
तर, उनी यसमा प्रधानमन्त्रीलाई दोषी ठान्दैनन्।
‘बाँकी भुक्तानी हुन्छ कि हुँदैन भन्ने कुराले मलाई केही फरक पर्दैन। म मोदीलाई नै भोट हाल्छु,’ उनले भने।
वाराणसीमा अन्तिम चरणमा मतदान हुनेछ। विभिन्न चरणमा मतदान सकिएपछि परिणाम जुन ४ मा घोषणा हुनेछ।
७३ वर्षीय मोदी देश र विदेशमा निकै लोकप्रिय छन्। उनका आलोचक पनि उत्तिकै छन्।
उनका समर्थकहरू मोदीलाई सबल, कुशल र आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने नेता मान्छन्।
आलोचकहरू भने उनको सरकारले केन्द्र सरकारका विभिन्न संस्थाहरूलाई कमजोर बनाएको, भिन्न मत र स्वतन्त्र प्रेसलाई दमन गरेको र अल्पसंख्यक मुस्लिम समुदायलाई खतरा महसुस हुने स्थितिमा पु¥याएको आरोप लगाउँछन्।
राजनीतिक विश्लेषक रवीन्द्र रेश्मी भन्छन्,‘मोदीका या त कट्टर प्रशंसक छन् या कट्टर आलोचक। कि त तपाईं उनलाई मन पराउनुहुन्छ कि मन पराउनुहुन्न।’
चुनावअघि भएका मतसर्वेक्षणहरूले मोदीलाई प्रतिद्वन्द्वीहरूको तुलनामा धेरै अगाडि देखाएका छन्। त्यसैले उनको पार्टीले नै आगामी सरकार पनि बनाउने ठानिएको छ।
मोदीले आफ्नो दल भारतीय जनता पार्टी (भाजपा) लाई लोकसभामा भएका ५४२ मध्ये ३७० सिट जिताउने दुष्कर लक्ष्य राखेका छन्।
सन् २०१९ मा भाजपाले ३०३ सिट जितेको थियो। यसको अर्थ भाजपा यसअघि जितेका उत्तरी राज्य पूरै जोगाउनुका साथै परम्परागत रूपमा कठिन ठानिएका दक्षिणी राज्यहरूमा पनि बलियो बन्नुपर्नेछ।
मोदीको नाम बिक्छ
मोदीले अत्यधिक बहुमत पाउने लक्ष्य राखेका छन्। भाजपाका लागि मोदी नै सबैभन्दा ठूलो निधि हुन्।
बसबिसौनीमा टाँसिएका चित्र, होर्डिङबोर्ड, पत्रपत्रिकाका विज्ञापन अथवा उनको भाषणको दृष्य देखाउने टेलिभिजनहरू…जताततै उनकै अनुहार छाएको छ।
गत वर्ष भारतले जी–२० शिखर सम्मेलनको आयोजना गरिरहँदा राजधानी दिल्ली विश्वनेताहरूलाई स्वागत गरिरहेका मोदीको तस्बिरले छपक्कै बनाइएको थियो।
पालैपालो अध्यक्षता गर्ने पद्धतिअनुसार जी–२० सम्मेलनको आयोजना गरिन्छ।
तर, मोदीकै प्रयासका कारण सम्मेलन आयोजना भएको भन्ने जस्तो भान पर्नेगरी प्रचारप्रसार गरिएको थियो।
‘मोदीले यो सम्मेलनलाई असाध्यै ठूलो कार्यक्रममा रूपान्तरित गरिदिए। यस्तो सम्मेलन के हो र यसका उपयोग कसरी गर्नुपर्छ भन्ने उनलाई राम्ररी थाहा छ,’ ब्रान्ड निर्माण विशेषज्ञ सन्तोष देसाई भन्छन्।
मोदी र उनको समूहसँग ब्रान्डिङ तथा भाष्य निर्माण गर्ने विषयमा राम्रो ज्ञान छ। उनी जताततै देखा पर्छन्। तर, विरलै मात्रै कडा प्रश्न सोध्न सकिने गरी पत्रकार वा नागरिकका अगाडि उपस्थित हुन्छन्।
प्रधानमन्त्री भएयता उनले भारतमा कहिल्यै पत्रकार सम्मेलनको आयोजना गरेका छैनन्। उनले अन्तर्वार्ता पनि विरलै दिएका छन्, उनलाई चुनौती पनि विरलै दिइएको छ।
राजनीतिक विश्लेषक आरके उपाध्यायका अनुसार प्रधानमन्त्री बन्नका लागि उनले ‘गुजरात दङ्गाका निम्ति जिम्मेवार व्यक्ति’ को रूपमा सञ्चारमाध्यममा बनेको छविलाई फेर्न सक्नुपर्छ।
पछि सर्वोच्च अदालतद्वारा गठित समितिले सन् २००२ को हिंसामा उनको संलग्नता पुष्टि गर्ने कुनै प्रमाण फेला पारेन। त्यतिबेला उनी गुजरातका मुख्यमन्त्री थिए।
घटनामा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। मारिनेमा धेरैजसो मुस्लिम थिए।
‘त्यसैले मेरो विचारमा उनी दिल्ली आएपछि उनले (सञ्चारमाध्यमलाई) देखाउन चाहे–हेर, मलाई तिमीहरूको आवश्यक्ता छैन। म तिमीहरूविनै जनतासँग जोडिनसक्छु,’ उपाध्याय भन्छन्।
मोदी इन्स्टाग्राममा संसारकै सर्वाधिक फलोअर भएका नेता हुन्। एक्स (ट्विटर) मा उनलाई ९ करोड ७५ लाखले पछ्याउँछन् र डिजिटिल माध्यममार्फत मात्रै नभइ उनी मासिक रेडियो कार्यक्रममार्फत पनि आफ्नो विचार राख्छन्।
अहिलेसम्मका उनका लगभग सबैजसो सार्वजनिक अन्तरक्रियाहरू असाध्यै कुशल तरिकाले व्यवस्थापन गरिएको देखिन्छ।
यो एक दशकमा उनका अनगिन्ती परियोजना उदघाटनको, समर्थकहरूसँगको भेटघाटको, समुद्रमा ‘स्रोर्कलिङ’ गरेको र सन् २०१९ को चुनाव प्रचारप्रसारपछि गुफामा गएर ध्यान गरेको तस्बिरसमेत खिचिएको छ।
जनतासँग सिधै जोडिने अवसरलाई उनले खेर जान दिएका छैनन्। मोदी हालै भारतीय युवाहरूको बीचमा पुगेर खेल क्षेत्रका हस्तीसँग समय बिताए र लोकप्रिय प्रभावशाली युवाहरूलाई पुरस्कृत गरे।
ती सबै गतिविधि क्यामराअगाडि भएका थिए।
केरलाको भर्खरै एउटा सभामा उनले संक्षिप्त रूपमा मलायम भाषामा बोले। सहभागीहरू खुसीले ताली र सिट्ठी बजाए।
‘मोदीले गर्ने र सञ्चारमाध्यममा प्रस्तुत हुने धेरै कुराहरू विम्बात्मक छन्। (उनी दूर्गम क्षेत्रमा सीमामा खटिएका सैनिकहरूसँग वा सीमान्तकृत मानिसहरूसँग बिदा वा चाडबाड मनाउँछन्),’ राजनीतिक विश्लेषक सन्दीप शास्त्री भन्छन्।
मोदीको आकर्षण
‘चुनावमा भाजपाबाट को उठ्छ भन्ने कुरा महत्वपूर्ण छैन किनभने केन्द्रविन्दुमा प्रधानमन्त्रीको छवि छ। त्यसकै आधारमा राजनीतिक घटनाक्रम र निर्वाचनको चक्र चल्छैन,’ सार्वजनिक नीति विश्लेषक यामिनी ऐय्यर भन्छिन्।
यद्यपि केही विश्लेषकहरू अतिकेन्द्रीकृत निर्णय प्रक्रियाका कारण स्थानीय नेताहरूलाई लाभ नहुने र दीर्घकालमा त्यो भाजपाका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्।
पटेल मोदीलाई भाजपालाई रूपान्तरण गर्ने ‘स्वम्भू’ नेता मान्छन्।
‘पहिला प्रतिपक्षले भाजपामा धनी, सहरमा बस्ने र उच्च जातका मानिसको वर्चस्व भएको आरोप लगाउने गथ्र्यो। त्यस्ता आरोपहरू आधारहीन थिए। मोदीको प्रयासबाट भाजपा ग्रामीण विपन्न, किसान, आदिवासी, कामदार, महिला र सीमान्तकृत समुदायका मानिसको पार्टीका रूपमा स्थापित भएको,’ उनी भन्छन्।(बिबिसीबाट)
Leave a Reply