जनकपुरधाम- दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टी (आप) का अध्यक्ष अरविन्द केजरीवाल पक्राउ परेका छन्।
भारतको वित्तीय अपराध अनुसन्धान निकायले केजरीवाललाई पक्राउ गरेको हो।
मुख्यमन्त्री केजरीवाललाई पक्राउ गरिएको उनको पार्टी आपले जनाएको छ।
कर विभागअन्तर्गतको प्रवर्तन निर्देशनालय (इडी) ले बिहीबार साँझ केजरीवालको निवासमा खानतलासी गरी उनलाई पक्राउ गरेको हो।
भारतको मुख्य विपक्षी कांग्रेसलगायतका दलले घटनाको विरोध गरेका छन्। आपले आफ्नो अध्यक्ष निर्दोष रहेको र राजनीतिक उद्देश्यले पक्राउ गरिएको बताएको छ।
भारतमा आगामी अप्रिल १९ तारिखदेखि लोकसभा निर्वाचन हुँदैछ। त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी पुनः विजयी हुने धेरैको आकलन छ।
दिल्ली सरकारको मदिरा बिक्री नीतिसँग जोडिएको भ्रष्टाचारको आरोपका सम्बन्धमा छानबिन गर्न उनलाई पक्राउ गरिएको बताइएको छ।
सन् २०१२ मा केजरीवाल सरकारले लागु गरेको यो नीतिले निजी क्षेत्रका थोक विक्रेतालाई अनुचित लाभ दिएको आरोप लागेको छ।
आप समर्थकहरूले भने यस नीतिले सरकारी एकाधिकार तोडेको बताउँदै आएका छन्।
निर्देशनालयले यस विषयमा सोधपुछका लागि केजरीवाललाई बारम्बार बोलाएकोमा उनले धेरैपटक त्यसको बेवास्ता गरेका थिए।
यसै मुद्दाका सम्बन्धमा उनको पार्टीका दुई नेता सञ्जय सिंह र मनिष सिसोदियालाई गत वर्ष पक्राउ गरिएको थियो।
दिल्ली विधानसभामा आपका मुख्य सचेतक दिलिप पाण्डेले केजरीवाललाई पक्राउ गर्नुले प्रधानमन्त्री मोदी उनीसँग डराएको देखिएको बताए।
भारतको प्रमुख प्रतिपक्षी दल कांग्रेस नेत्री प्रियंका गान्धीले केजरीवाल पक्राउ परेको घटना गलत तथा असंवैधानिक भएको टिप्पणी गरेकी छन्।
केही साताअघिदेखि नै कांग्रेसले मोदी सरकारले विपक्षीलाई कमजोर बनाउन राज्य संयन्त्रको दुरूपयोग गरेको आरोप लगाउँदै आएको छ।
बिहीबार दिउँसोमात्र पत्रकार सम्मेलन गरेर कांग्रेस अध्यक्ष मिल्लकार्जुन खड्गे र वरिष्ठ नेता सोनिया गान्धी तथा राहुल गान्धीले कर विभागको प्रयोग गरेर मोदीले आफ्नो दलका बैंक खाता रोक्का गरिदिएको बताएका थिए।
गत वर्ष एक अदालतले राहुल गान्धीलाई गालीबेइज्जती मुद्दामा दोषी ठहर गरी दुई वर्ष जेल साजय सुनाएको थियो। उनको सांसद पद पनि निलम्बनमा परेको थियो।
सर्वोच्च अदालतले यो निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि उनी पुनः संसद प्रवेश गरेका थिए।
Leave a Reply