तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता हो : राष्ट्रपति

जनकपुरधाम- राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान नै लोकतन्त्र, गणतन्त्र र समानता भएको बताएका छन्।

राष्ट्रपति पौडेलले शनिबार महोत्तरीको मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि मटिहानी नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

‘हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ। यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत सबैभन्दा तल्लो तहका जनताको उत्थान गर्नुछ। यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता,’ उनले भने।

राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि, उनीहरुको मौलिक हक, अधिकारका लागि संघर्ष गर्ने क्रान्तिको करिडोर मटिहानीदेखि सिन्धुली, ओखलढुंगाहुँदै सगरमाथाको भूमि भएको बताए।

उनले मधेसलाई प्रजातन्त्रको भूमिका रुपमा आफूहरुले सम्मान गरिरहेको उल्लेख गरे।

राष्ट्रपति पौडेलले हाम्रो संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताए।

उनले संविधानमा अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य भएको स्पष्ट पारे।

उनले राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ आफूहरुले प्राप्त गरेको तर गणतन्त्रको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै रहेकोजस्तो आफूलाई लागेको बताए।

‘गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो यो त संस्कार, संस्कृति, आनीबानी र व्यवहारमात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ’, उनले भने।

नेपाली जनताको ठूलो संघर्ष, बलिदान र त्यागबाट आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेको भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेकोमात्र होइन वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उल्लेख गरे।

उनले प्रशासनिक रुपमा राज्यको पुनः संरचना भएको र तल्लोभन्दा तल्लो तहमा रहेका जनताको पहुँचमा राज्यसत्ता पुगेको भए पनि राज्यको चरित्रको भने पुनः संरचना हुन र केन्द्रीत गरेर राखेको अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँंकी रहेको धारणा व्यक्त गरे।

‘अब यसका लागि हामीले विलम्ब गर्न हुन्न भन्ने मलाई लाग्छ, संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन छिटो निर्माण गर्न संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको म यहाँंहरूसमक्ष स्मरण गर्न चाहन्छु’, उनले भने।

एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने कठिन र दुरुह संघर्ष अनि त्याग र बलिदानका कैयौं कष्टकर दिनहरूमा आफूलाई न्यौछावर गरेर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र संगठनलाई नेपाली भूमिमा बलियो, सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविश्राम खटेको एक योद्धाको नाम केशब कोइराला भएको उनले उल्लेख गरे।

‘ओखलढुंगाको पूर्वी गाँउ छहरे कोइराला गाँउमा जन्मेर प्रचुर धन सम्पति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनु भएका केशव कोइराला कुशल संगठनकर्ता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो, ओखलढुंगामा जन्मेर राजविराज झरेर केशव लगायतले मधेशमा प्रजातन्त्रको पक्षमा चलाएको जागरण अभियानका कारण आज पनि मधेश प्रजातन्त्रका पक्षमा सतिसाल झैं उभिरहेको छ भन्ने मलाई लाग्दछ’, राष्ट्रपति पौडेलले भने

यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको शालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आव्हान गरे।

उनले जनता आफैंले बनाएको नेपालको संविधान कार्यान्वयन गरेर आज आफूहरुले नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजागरीमार्फत समृद्धिको यात्रामा अघि बढ्ने राष्ट्रिय दायित्व पूरा गर्न लागि पर्नुपर्ने भन्ने हेक्का सबैले राख्न जरुरी भएको उनको भनाइ थियो।

उनलले संविधानले प्रत्याभूत गरेको मौलिक हकको कार्यान्वयन गरी खासगरी विपन्न, पिछडिएका र गरीव जनताको जीवनस्तर माथि उठाउन सकेमात्र लोकतन्त्रको सार र सार्थकता यथार्थमा रुपान्तरण हुने उल्लेख गरे।

लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता शहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जली हुने भन्ने उनेले बताए।

केशव कोइराला र गणेश नेपालीको शालिक नेपालमा लोकतन्त्र स्थापना र पुर्नस्थापनाका लागि भएका संघर्ष, त्याग र आरोह अवरोह बुझ्ने एउटा जीवन्त इतिहास भएर रहिरहने उाले विश्वास व्यक्त गरे।

यस अघि आज बिहान राष्ट्रपति पौडेलले जलेश्वरस्थित जलेश्वर महादेव मन्दिरको दर्शन एवम पूजाअर्चना गरेका थिए।

त्यस्तै उनले पिपरमा रहेको लोकतान्त्रिक योद्धा स्वर्गीय रामनारायण मिश्रको शालिकमा माल्यार्पण गरेका थिए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *