
फाइल तस्बिर
जनकपुरधाम- तराई-मधेसमा अन्य वर्षझैँ यस वर्षपनि चैते छठ धुमधामका साथ मनाइँदैछ।
यस वर्षको चैते छठ शुक्रबारदेखि विधिवित रुपमा सुरु भएको हो।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन शुक्रबार ब्रतालुहरु नुहाइ धुआइगरी चोखो खानेकुरामात्र खान्छन्। जसलाई नहाय खाए भत्रे गरिन्छ। यसैगरी शनिबार ब्रतालुहरूले खरना गरेका थिए।
खरनामा पूजागरे पापको क्षय हुने जनविश्वाससमेत रहेको छ।
सन्ध्याकलीन अर्घ्य दिनुभन्दा एक दिनअघि हुने खरनामा ब्रतालुहरू दिनभर ब्रत बसेर साँझको समय नुहाइधाइ गरी माटोको नयाँ चुल्होमा प्रसाद बनाउने गर्दछन्।
गाइको गोबरले लिपपोत गरी कुलदेवता रहेको घरमा चामलको पिठोले अरिपन दिएर ब्रतालुहरु पूजापाठ गर्ने गर्दछन्।
खरनाका दिन घरका सबै सदस्य तथा छिमेकीहरू जम्माभइ प्रसाद ग्रहण गर्ने परम्परा रहेको छ।
खरना दिनदेखि ब्रत बसेका ब्रतालुहरूले सप्तमी तिथीको दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइसकेपछि छठ पर्व सम्पन्न हुन्छ।
खरनामा प्रसादको रूपमा विशेष रूपले केरा र सख्खरमा तयार पारिएको खीर रहने गरेको छ। कात्तिक र चैत महिनमा मनाइने छठ पर्वको सबै विधि समान हुनेगरेका छन्।
चैते छठको प्रमुख दिन आज सन्ध्याकालीन अर्घ्य दिइँदैछ। छठ हुने पोखरीमा साँझ ब्रतालुहरूले अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिनेछन्।
चैते छठका लागि जनकपुरधामसहित आसपासका क्षेत्रका पोखरीका घाटहरू सजिएका छन्।
छठ पर्व हुने पोखरीहरूमा स्थानीय युवा क्लबले सरसजावटका काम गरेका छन्।
यसअघि जनकपुरको सीमित पोखरीमा मात्र मनाइने चैते छठ पछिल्लो समय बिस्तार हुँदै गएको छ।
जनकपुरको धनुषसागर, गंगासागर, अंगराजसरलगातका पोखरीहरूमा चैते छठ मनाइन्छ।
कात्तिक महिनामा मनाइने छठ पर्व जस्तो चहलपहल नभए पनि बिस्तारै चैते छठले पनि व्यापकता पाउँदै छ।
Leave a Reply