काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा किर्ते गरेको आरोपमा नापी कार्यालय चन्द्रगढी झापाका तत्कालीन नापी अधिकृतसहित १८७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
अख्तियारले तत्कालीन नापीअधिकृत रामदेव मण्डल धानुकसहित १८७ जनाविरूद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
अख्तियारले नापी कार्यालय चन्द्रगढीका ९ जना कर्मचारी सरकारी सार्वजनिक जग्गा गैरकानुनी स्वबासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका सुरू जग्गा दर्तावाला ६५ जना र बिगो असुलउपर तथा जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाइएको ११३ जना गरी १८७ जनाविरूद्ध मुद्दा गरेको हो।
२८ बिघा १७ कठ्ठा १३ धुर सार्वजनिक जग्गा स्वबासी जग्गादर्ताबाट व्यक्ति विशेषको नाममा दर्ता गरिएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।
‘सुरू नापीको सरकारी सार्वजनिक जग्गा स्वबासी जग्गादर्ताबाट जम्मा क्षेत्रफल २८ बिघा १७ कठ्ठा १३ धुर जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम गरेको भेटियो। ती जग्गाहरूको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८०१ रूपैयाँ ७५ पैसा हुन आउँछ,’ अख्तियारले जनाएको छ।
झापाको दमक नगरपालिका १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिनी खोलाको दोभानबाट उत्तरतर्फ) का जग्गाहरू किनं ७६०.१, ७६१, ७६२, ७७३, ७८३, ७८४, ७८६, ७८७, ७८८ र साबिक दमक ६ ग र दमक ५ खबीचको मार्जिनका जग्गाहरू स्वबासी प्रक्रियाबाट व्यक्तिको नाममा लगिएको अख्तियारको ठहर छ।
२०२१ सालको सुरू नापीमा सरकारी सार्वजनिक भएको फिल्डबुक र जग्गाधनी दर्ता श्रेस्ताबाट देखिएका ती जग्गा नापी कार्यालय, चन्द्रगढीबाट पुनः नापीका क्रममा विभिन्न व्यक्तिहरूको नाममा स्वबासी प्रक्रियाबाट जग्गा दर्ता गरिएको अख्तियारले जनाएको छ।
Leave a Reply