जनकपुरधाम- मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तकको बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ।
‘डा.ओम फाउन्डेनसन’ ले आइतबार विज्ञप्ति जारी गरेर पुस्तक बिक्रीबाट प्राप्त रकम ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरूप प्रदान गरिने जनाएको हो।
‘वर्ष २०८० को चर्चित पुस्तकमध्ये एक ‘जीवन्त सम्बन्ध’ को बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम लेखकले स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणमा खर्च गर्ने क्रममा शैक्षिक सत्र २०८१ मा छात्रवृत्ति प्रदान गरिने भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।
पुस्तक बजारमा आएको ६ महिनाको अवधिभित्र २० हजार प्रतिभन्दा बढी बिक्री भइसकेको फाउन्डेसनले जनाएको छ।
गत असोज ६ गतेदेखि बजारमा उपलब्ध पुस्तक विमोचनअघि नै प्रिबुकिङ भएको थियो भने स्वदेश तथा विदेशबाट दिनहुँ माग भइरहेको फाउन्डेसनको भनाइ छ।
पुस्तक देशभरिकै अधिकांश पुस्तक पसलहरू र भाटभटेनी सुपरमार्केटका स्टोरमा उपलब्ध छ भने समीक्षा पब्लिकेसन्सलगायत विभिन्न अनलाई प्लेटफर्म र वितरकमार्फत पाठकसमक्ष पठाइँदै आएको छ।
पाठकहरूद्वारा अत्यधिक रूचाएको पुस्तकहरूको सूचीमा यस वर्ष मुटुरोग विशेषज्ञ डा.अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पर्न सफल भएको छ।
Leave a Reply