जानकी मन्दिरअगाडि प्रदर्शन गर्नेहरूलाई कारबाही हुने

जनकपुरधाम – जनकपुरधामको जानकी मन्दिर गेटअगाडि प्रदर्शन गर्नेहरूलाई कारबाही हुने भएको छ।

आफूलाई ‘सम्राट सेना’ भनेर जानकी मन्दिरको पूर्वी गेटअगाडि प्रदर्शन गर्नेहरूलाई स्थानीय प्रशासनले कारबाही गर्ने भएको हो।

राम नवमीका अवसरमा जानकी मन्दिर परिसरभित्र रामको प्रतिमा बनाउन अनुमति नदिएको भन्दै ‘सम्राट सेना’ आवद्ध युवाहरूले आइतबार सडक अवरूद्ध गरी जानकी मन्दिर गेटअगाडि प्रदर्शन गरेका थिए।

आफूलाई ‘सम्राट सेना’ भन्ने केही युवाहरूले जानकी मन्दिर परिसरभित्र माटोको प्रतिमा बनाउन जानकी मन्दिरसँग अनुमति मागेको थियो।

तर, मन्दिरका महन्त रामतपेश्वर दास एवं उत्तराधिकारी महन्त रामरोशन दासले माटोको प्रतिमा बनाउन अनुमति दिएका थिएनन्।

अनुमति नपाएपछि आक्रोशित युवाहरू सडकमा आगो बालेर करिब ४–५ घन्टा बाटो अवरूद्ध गर्दै जानकी मन्दिर गेटअगाडि प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा उनीहरूले जानकी मन्दिरका महन्त र उत्तराधिकारी महन्तविरूद्ध ‘अश्लिल’ शब्दसमेत प्रयोग गरेका थिए।

जानकी मन्दिरअगाडी प्रदर्शन गरिरेका सम्राट सेनाका युवाहरू

यो घटनालाई लिएर सोमबार जानकी मन्दिरमा बसेको सर्वपक्षीय बैठकले प्रदर्शन गर्ने युवाहरूलाई कारबाही गर्ने निर्णय गरेको उत्तराधिकारी महन्त रामरोशनले जानकारी दिए।

बैठकमा सहभागी संघसंस्थाका प्रतिनिधिहरूले जानकी मन्दिरअगाडि ४–५ घन्टासम्म बाटो अवरूद्ध हुँदासमेत स्थानीय प्रशासनले चासो नदेखाएकोप्रति आपत्ति जनाएका थिए।

बैठकमा सहभागी धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतले स्थिति सामान्य बनाउन त्रुटि भएको स्वीकार गरेको बताइएको छ।

सर्वपक्षीय बैठकलगत्तै आइतबार प्रदर्शन गर्नेमध्ये केही युवाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

प्रदर्शन गर्ने १०–१२ जनामध्ये केही पक्राउ परेको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

जानकी मन्दिरका महन्त रामतपेश्वरले आइतबार नै पत्रकार सम्मेलन गरेर मन्दिर परिसरभित्र माटोको प्रतिमा स्थापना गर्ने परम्परा नरहेकोले उनीहरूलाई अनुमति नदिएको बताएका थिए।

‘मन्दिर परिसरभित्र आजसम्म माटोको प्रतिमा बनाएर पूजाआजा भएको छैन, भगवानको प्रतिमा स्वतः रहेकाले परम्पराअनुसार त्यसो गर्न पनि मिल्दैन,’ उनले भने, ‘प्रतिमा स्थापनाका लागि अनुमति नदिएपछि केही अवोध युवाहरू प्रदर्शनमा उत्रिएका छन्, यो विल्कुलै गलत हो।’

मन्दिरमा साक्षात सीता र रामको पूजाआजा भइरहेकाले माटोको प्रतिमा स्थापना गर्न नमिल्ने जानकी मन्दिरको भनाइ छ।

प्रतिमा बनाउन अनुमति लिन पुगेका ‘सम्राट सेना’ का कार्यकर्ता र उत्तराधिकारी महन्त रामरोशनबीच शनिबार मन्दिर परिसरमै विवाद भएको थियो।

उत्तराधिकारी महन्त रामरोशनले बाह्रबिघा, तिरहुतियागाछीलगायतका खुला ठाउँ छँदाछँदै मन्दिर परिसरभित्र माटोको प्रतिमा बनाउन उपयुक्त नभएको बताएका थिए।

सोमबार भएको सर्वपक्षीय बैठकमा जानकी मन्दिरका महन्त, उत्तराधिकारी महन्त, प्रमुख जिल्ला अधिकारी, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, धनुषा प्रहरी प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *