जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा सुरू भएको छ।
जनकपुरधाम–४ स्थित तिरहुतिया गाछीमा जसपा नेपालको राष्ट्रिय महाधिवेशनको उदघाट्न सत्र सुरू भएको हो।
जसपा नेपालले यो महाधिवेशनलाई ‘एकताको राष्ट्रिय महाधिवेशन’ भनेको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले महाधिवेशनको उदघाटन गरेका छन्।
उदघाटन कार्यक्रममा नेपाल, भारतलगायत छिमेकी मुलुकका राजनीतिक दलका प्रतिनिधिहरू सहभागी भएका छन्।
उदघाटन कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, लोसपाका उपाध्यक्ष जितेन्द्र सोनल, नेकपा एमालेका पोलिटब्युरो सदस्य बुद्धिमान तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का स्वर्णीम वाग्लेलगायतका नेताहरू सहभागी छन्।
त्यस्तै छिमेकी भारतका राष्ट्रिय कांग्रेस, जनता दल (युनाइटेड), राष्ट्रिय जनता दलका प्रतिनिधिहरू पनि उदघाटन कार्यक्रममा पुगेका छन्।
महाधिवेशन कार्यक्रममा सहभागी हुन जसपा नेपालले नेपालका सबै राजनीतिक दललाई निम्तो पठाए पनि केही दिनअघि पार्टी टुक्र्याएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) लाई भने निम्तो पठाएको छैन।
महाधिवेशनको तयारी भइरहेकै बेला सात जना सांसद जसपा नेपालबाट बाहिरिएर राईको नेतृत्वमा जसपा दर्ता गराएका थिए।
महाधिवेशनमा भाग लिन देशभरबाट १३ सय बढी प्रतिनिधि जनकपुरधा आइपुगेको जसपा नेपालले जनाएको छ।
त्यस्तै उदघाटन कार्यक्रमका लागि हजारौंको संख्यामा जसपा नेपालका नेता कार्यकर्ता तथा शुभचिन्तकहरू जनकपुरधाम पुगेका छन्।
मधेसका ८ जिल्लाका साथै देशभरबाट गाडीमा पार्टीका नेता कार्यकताहरू उदघाटन कार्यक्रममा सहभागी हुन आएको जसपा नेपालले जनाएको छ।
महाधिवेशनको बन्दसत्र मंगलबारदेखि तिरहुतियागाछी मै रहेको महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्रमा हुनेछ।
बन्दसत्रबाट राजनीतिक, सांगठिनक, आर्थिकलगायतका प्रतिवेदनहरू पारित गर्ने तयारी गरिएको छ।
महाधिवेशनले नयाँ नेतृत्वका साथै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू चयन गर्नेछ।
जसपा नेपालको विधानमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव २, उपमहासचिव ३, सचिव ७, कोषाध्यक्ष १, केन्द्रीय सदस्य २०१ र कार्यकारिणी सदस्य निर्वाचित गर्ने व्यवस्था छ।
अशोक राई, इस्तियाक राई, राजेन्द्र श्रेष्ठहरू पार्टी विभाजन गरेर गइसकेका कारण जसपा नेपालको अध्यक्षमा पुनः उपेन्द्र यादव नै निर्वाचित हुने सम्भावना देखिएको छ।
राजकिशोर यादवले पनि दाबी गरिरहे पनि अध्यक्षका लागि उपेन्द्र यादवको विकल्प नभएको नेताहरूको भनाइ छ।
पदाधिकारीका लागि भने रस्साकस्सी हुने उनीहरूको भनाइ छ। सहअध्यक्षदेखि उपमहासचिव पदका लागि आकांक्षीहरू बढी देखिएकाले निर्वाचन प्रक्रियामा जानुपर्ने अत्याधिक सम्भावना रहेको जसपा नेपालका नेताहरूले बताएका छन्।
वर्तमान कार्यसमितिका एक जना पदाधिकारीले केन्द्रीय कार्यकारिणी समितिमा रहेका दश जना नेताहरूको उचित व्यवस्थापन हुनुपर्ने बताए।
Leave a Reply