जसपा नेपालको महाधिवेशन आजदेखि, जनकपुरको तिरहुतिया गाछीमा उदघाटन

जनकपुरधाम-जनता समाजवादी पार्टी (जसपा) नेपालको ‘एकताको राष्ट्रिय महाधिवेशन’ सोमबारदेखि जनकपुरधाममा सुरू हुँदैछ।

तीन दिनसम्म चल्ने महाधिवेशन सोमबारबाट सुरू हुन लागेको हो।

मधेसी जनअधिकार फोरम हुँदै जसपा नेपाल गठन भएसम्म १८ वर्षको अन्तरालमा यो दोस्रो महाधिवेशन हो।

यसअघि २०६५ सालमा तत्कालीन मधेसी जनअधिकार फोरमले वीरगञ्जमा महाधिवेशन गरेको थियो।

महाधिवेशनका लागि जनकपुरधाम–४ स्थित तिरहुतिया गाछीमा विशाल पन्डाल निर्माण गरिएको छ। महाधिवेशनको उदघाटन समारोह तिरहुतिया गाछीमा निर्माण गरिएको पन्डालमा हुनेछ।

दिउँसो १ बजेबाट महाधिवेशनको उदघाटन कार्यक्रम सुरू हुने जसपा नेपालले जनाएको छ।

महाधिवेशनमा देशभरबाट १३ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।

त्यस्तै महाधिवेशनको उदघाटन कार्यक्रममा सहभागी हुन भारत, मलेसियालगायतका राजनीतिक दलका नेताहरूलाई निमन्त्रणा पठाइएको जसपा नेपालले जनाएको छ।

उदघाटन कार्यक्रममा नेपालका सबै राजनीतिक दललाई निम्तो दिइए पनि केही दिनअघि विभाजन भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) लाई भने बोलाइएको छैन।

महाधिवेशनले नयाँ नेतृत्वका साथै पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू चयन गर्नेछ।

जसपा नेपालको विधानमा अध्यक्ष एक, सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव २, उपमहासचिव ३, सचिव ७, कोषाध्यक्ष १, केन्द्रीय सदस्य २०१ र कार्यकारिणी सदस्य निर्वाचित गर्ने व्यवस्था छ।

अशोक राई, इस्तियाक राई, राजेन्द्र श्रेष्ठहरू पार्टी विभाजन गरेर गइसकेका कारण जसपा नेपालको अध्यक्षमा पुनः उपेन्द्र यादव नै निर्वाचित हुने सम्भावना देखिएको छ।

राजकिशोर यादवले पनि दाबी गरिरहे पनि अध्यक्षका लागि उपेन्द्र यादवको विकल्प नभएको नेताहरूको भनाइ छ।

पदाधिकारीका लागि भने रस्साकस्सी हुने उनीहरूको भनाइ छ। सहअध्यक्षदेखि उपमहासचिव पदका लागि आकांक्षीहरू बढी देखिएकाले निर्वाचन प्रक्रियामा जानुपर्ने अत्याधिक सम्भावना रहेको जसपा नेपालका नेताहरूले बताएका छन्।

वर्तमान कार्यसमितिका एक जना पदाधिकारीले केन्द्रीय कार्यकारिणी समितिमा रहेका दश जना नेताहरूको उचित व्यवस्थापन हुनुपर्ने बताए।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *