जनमतबाट सिंह मुख्यमन्त्री र खङ्ग राज्यमन्त्री बन्दै, भोलि सपथग्रहण

जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री जनमत पार्टीका सतिशकुमार सिंह बन्ने भएका छन्।

यसअघि प्रदेस संसदीय दलका नेता महेशकुमार सिंह मुख्यमन्त्री बन्ने बताइए पनि जनमतले सिंहलाई अघि सारेको हो।

सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जनमतका एक सांसदले बताए।

त्यस्तै दलिततर्फ समानुपातिकबाट प्रदेससभा सदस्यमा निर्वाचित रञ्जु खङ्ग लाई राज्यमन्त्रीमा पठाउने तयारी जनमतले गरेको छ।

मधेस प्रदेसको मुख्यमन्त्री चयन गर्ने जिम्मेवारी जनमत पार्टीले पार्टी अध्यक्ष सिके राउतलाई दिएका थिए।

अध्यक्ष राउतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको ती सांसदको भनाइ छ।

नेकपा एमाले, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूको समर्थनमा सिंह मुख्यमन्त्री बन्न लागेका हुन्।

उनी सप्तरी निर्वाचन क्षेत्र नम्बर २(१) बाट निर्वाचित प्रदेससभा सदस्य हुन्।

केही दिनअघि तीन दलबीच भएको बैठकमा जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति भएको थियो।

मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरिरहेको जनमत पार्टीबाट महेशप्रसाद यादव यसअघि सरोजकुमार यादव नेतृत्वको सरकारमा शिक्षामन्त्री थिए।

सरोकारवाला मन्त्रीलाई जानकारी नदिइ राजविराजस्थित कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाइएपछि उनी असन्तुष्ट बनेका थिए।

शिलान्यास कार्यक्रमको विरोधका लागि पुगेका तत्कालीन शिक्षामन्त्री यादवसहित जनमतका नेता कार्यकर्तालाई प्रहरीले कुटपिट गरेको भन्दै जसपा नेपाल र जनमत पार्टीबीच टकराव बढेको थियो।

त्यो घटनालगत्तै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो।

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले बुधबार प्रदेससभामा विश्वासको मत पाउन नसकेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो।

मधेस प्रदेस प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समयसीमा दिएकी छन्।

मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि प्रदेस प्रमुख भण्डारीले बिहीबार बेलुका नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छन्।

‘उपधारा (१) बमोजिम प्रदेससभामा कुने पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेससभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेससभाका सदस्यलाई प्रदेस प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ,’ भनिएको छ।

संविधानको यही धारालाई टेकेर एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलहरूको समर्थनमा जनमत पार्टीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेको छ।

शुक्रबार मुख्यमन्त्रीको सपथग्रहणसँगै सानो आकारको मन्त्रीपरिषद बनाउने तयारी गरिएको छ।

बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने क्रममा उनको पक्षमा ५० र विपक्षमा ५३ मत परेको थियो।

१०६ सदस्यीय (एक जना निलम्बन) प्रदेससभामा बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ।

नयाँ सरकार बनाउने तयारीमा रहेको एमाले–माओवादी–जनमत गठबन्धनलाई नागरिक उन्मुक्ति र संघीय समाजवादी पार्टी नेपालले पनि समर्थन जनाउने बताइएको छ।

यो दुवै दलसँग १–१ सांसद छन्। नागरिक उन्मुक्ति र संघीय समाजवादीले समर्थन दिएको अवस्थामा नयाँ गठबन्धनलाई सरकार बनाउन स्पष्ट बहुमत पुग्नेछ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *