जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्रीका लागि दाबी पेस गर्न जनमत पार्टीलगायतका दलहरू प्रदेस प्रमुख कार्यालय पुगेका छन्।
प्रदेसको नयाँ मुख्यमन्त्री जनमत पार्टीका प्रदेस सांसद सतिशकुमार सिंहलाई नियुक्त गर्न गठबन्धन दलका नेताहरू प्रदेस प्रमुख कार्यालय पुगेका हुन्।
अल्पमतमा परेका जसपा नेपालका नेता सरोजकुमार यादवले प्रदेससभाबाट बहुमत गुमाएपछि मधेसमा नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो।
प्रदेसको मुख्यमन्त्री जनमत पार्टीलाई दिनेगरी एमाले, माओवादी केन्द्र र जनमत पार्टीबीच यसअघि नै सहमति भएको थियो।
तीन दलबीच भएको सहमतिअनुसार जनमत पार्टीका सिंह मुख्यमन्त्री बन्न लागेका हुन्।
यसअघि जनमत पार्टी मधेस प्रदेस संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्ने बताइए पनि बिहीबार यो पार्टीले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो।
प्रदेस प्रमुख सुमित्रा भण्डारीले बुधबार साँझ नयाँ सरकार गठनका लागि दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी थिइन्।
गठबन्धनमा आवद्ध दलहरू त्यसअघि नै दाबी पेस गर्न प्रदेस प्रमुख कार्यालय पुगेका छन्।
सिंहलाई मुख्यमन्त्री बनाउन जनमत, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ५५ सांसदले समर्थनपत्रमा हस्ताक्षर गरेका छन्।
माओवादी केन्द्र मधेस प्रदेस संंसदीय दलका नेता भरतप्रसाद साहले प्रदेसका नयाँ मुख्यमन्त्री सिंहले आज १२ बजे सपथग्रहण गर्ने तय भएको बताए।
उनले गठबन्धन दलबीच मन्त्रालय बाँडफाँडमा सहमति भइसकेको समेत जानकारी दिए।
Leave a Reply