जनकपुरधाम- नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न जनकपुरधाम आउँदैछन्।
जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका सिरोहियालाई भेट्न निधि जनकपुरधाम आउन लागेका हुन्।
अहिले बिहान साढे १० बजेको विमानबाट काठमाडौंबाट जनकपुरधाम आउन लागेका निधिको विमानस्थलबाट सोझै जिल्ला प्रहरी कार्यालय धनुषा जाने कार्यक्रम रहेको छ।
पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका निधि जिल्ला प्रहरी कार्यालय पुगेर कान्तिपुरका अध्यक्ष सिरोहियालाई भेट्नुका साथै सुरक्षा अधिकारीहरूसँग छलफल गर्ने बताइएको छ।
सिरोहियाको गिरफ्तारीलाई निधिले प्रतिशोधको नाङ्गो कर्तुत भन्दै विरोध गरेका छन्।
जनकपुरधाम वडा नम्बर १ मा घर भएका निधि र सिरोहिया छिमेकीसमेत हुन्। सडक वारिपारी दुवै जनाको घर रहेको छ।
सिरोहिया पक्राउ परेपछि विरोध गर्दै निधिले सामाजिक सञ्जालमा लेखेका थिए, ‘कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारी प्रतिशोधको नाङ्गो कर्तुत हो, यसको भत्र्सना गर्दछु। जनकपुरमा उनको र मेरो घर सडकको वारिपारी हो, उनको मतापिता र पूरै परिवारलाई म राम्ररी चिन्दछु। सञ्चार क्षेत्रमा उनको योगदान अद्वितीय छ। तत्काल उनको रिहाइको माग गर्दछु।’
सिरोहियालाई भेट्नुका साथै उनको पार्टीका नेता तथा कार्यकर्ताहरूसँग चलफल गर्ने कार्यक्रमसमेत रहेको बताइएको छ। निधिको आज साँझ काठमाडौं फर्कने छन्।
सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे कान्तिपुरले श्रृंखलाबद्ध रूपमा समाचार लेखिरहेको बेला सिरोहियालाई गिरफ्तार गरेर प्रतिशोध साँध्न खोजिएको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ।
सञ्जारजगत र अधिकांश राजनीतिक दलले यो कदमलाई स्वतन्त्र प्रेस तथा लोकतन्त्रमाथि धावा भनेको छ।
फरक–फरक नम्बरको नागरिकता प्रयोग गरेर किर्ते गरेको भन्दै प्रहरीले कान्तिपुरका अध्यक्ष सिरोहियालाई मंगलबार उनको कार्यकक्षबाटै पक्राउ गरेको थियो।
बुधबार जनकपुरधाम ल्याइएका उनलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको थियो।
अदालतले सिरोहियामाथि अनुसन्धान गर्न तीन दिनको म्याद दिएको छ। उनी अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।
Leave a Reply