जनकपुरधाम–अयोध्या बस सेवा सुरू हुँदै

जनकपुरधाम- मधेस प्रदेसको राजधानी जनकपुरधामबाट राम जन्मभूमि भारतको अयोध्यासम्म बस सेवा सुरू हुने भएको छ।

राम नवमीको अवसरमा जनकपुरधाम–अयोध्या बस सेवा सुरू हुन लागेको हो।

नेपाल–भारतबीच भएको पारवहन सम्झौताअनुसार जनकपुरधामबाट अयोध्यासम्म बस सेवा सुरू हुन लागेको हो।

मातारानी यातायात प्रालि जनकपुरधामले अयोध्यासम्म बस सेवा सुरू गर्न लागेको  सिइओ मनोज चौधरीले जानकारी दिए।

चौधरीका अनुसार तत्कालका लागि हप्तामा एक दिन सञ्चालन हुनेगरी जनकपुरधामबाट अयोध्यासम्म बस सेवा सुरू गर्न लागिएको हो।

‘अहिले सातामा एक दिन सञ्चालन हुनेगरी अयोध्यासम्म बस सेवा सञ्चालन गर्न लागेका छौं,’ उनले भने,‘पछि यात्रुको मागअनुसार सेवा विस्तार गर्ने योजना बनाएका छौं।’

टिकट बुकिङ सुरू भइसकेको बताउँदै चौधरीले वैशाख ३ गते जनकपुधाम बसपार्कबाट अयोध्याका लागि पहिलो ट्रिप बस छुट्ने जानकारी दिए।

‘३ गते साँझ ६ बजे जनकपुरधामबाट छुटेर ४ गते अयोध्यामा बस होल्ड गर्नेछ र ५ वैशाखमा त्यहाँबाट जनकपुरधामको लागि बस हिँड्नेछ,’ उनले भने।

चौधरीका अनुसार नेपाल र भारतबाट एक–एक बस सञ्चालन हुनेगरी सम्झौता भएको छ।

यद्यपि भारतीय पक्षले भने त्यहाँको लोकसभा निर्वाचन सम्पन्न भइसकेपछि मात्र बस सेवा सुरू गर्ने भएको छ।

‘नेपाल र भारतबाट एक–एक बस सञ्चालन गर्ने गरी सम्झौता भएको छ। तर, भारतीय पक्षले त्यहाँको चुनाव सम्पन्न भइसकेपछि मात्र सेवा सुरू गर्ने जानकारी हामीले पाएका छौं,’ उनले भने।

राम जन्मभूमि अयोध्यामा राम मन्दिर उद्घाटन भएयता जनकपुरधाम र आसपासका क्षेत्रबाट त्यहाँ पुग्ने तीर्थालुहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

हवाइमार्ग र रेलबाट टिकट पाउन कठिनाइ भइरहेको बेला मातारानी यातायात प्रालिले सर्वसाधारण तीर्थालुका लागि बस जनकपुरधाम–अयोध्या बस सेवा सुरू गरेको हो।

जनकपुरधाम बस पार्कबाट साँझ ६ बजे छुट्ने बस बिहारको सीतामढी, मुजफ्फरपुर, पिपराकोठी, गोपालगञ्ज हुँदै उत्तर प्रदेसको गोरखपुरबाट अयोध्यासम्म पुग्नेछ।

जनकपुरधामबाट अयोध्यासम्म पुग्न ११ देखि १२ घन्टा समय लाग्ने अनुमान गरिएको छ।

यसअघि पनि जनकपुरधामबाट अयोध्यासम्म बस सेवा सञ्चालन भए पनि निरन्तरता पाउन सकेको थिएन।

जनकपुरधाम र अयोध्याबीचको पौराणिक तथा धार्मिक सम्बन्धका साथै राम मन्दिर उद्घाटन भइसकेपछि यात्रुको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *