काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नक्कली नागरिकता र सहकारी ठगी गर्ने तथा सरकारी जग्गा कब्जा गर्ने कारबाहीको दायरामा आउनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राजनीतिक र आर्थिक शक्ति हेरेर कानुन मिच्नेलाई सजायमा छुट दिन नहुने बताए।
‘जोसकै होस्, जतिसुकै शक्तिशाली होस्, राजनीतिक शक्ति होस कि आर्थिक शक्ति होस्, नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैन? दण्ड पाउनु पर्दैन,’ थापाले भने।
कुनै दलसँग जोडिएकै कारण कानुनविपरित गर्नेलाई छाड्न नहुने उनले बताए।
थापाले भने, ‘नागरिकता बनाउन कीर्ते गर्छ भने फलानो दलसँगग जोडिएको छ त्यसकारणले कीर्ते माफी हुन्छ, चल्छ? जुनसुकै तागत भएको होस्, आमनागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगी धन्दा चलाउँछ, ठगीको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरमा आउनुपर्दैन? कानुनले कारबाही गर्नुपर्दैन?’
जग्गा मिच्ने होस् वा हडप्ने होस् चाहे नागरिकता कीर्ते गर्ने हो चाहे सहकारी ठग्ने होस् कानुनको दायरमा आउनुपर्ने उनले बताए।
Leave a Reply