गण्डकीका मुख्यमन्त्री अधिकारी बर्खास्त

काठमाडौं- सर्वोच्च अदालतले गण्डकी प्रदेसका मुख्यमन्त्री खगराज अधिकारीलाई बर्खास्त गरेको छ।

सर्वोच्च अदालतले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको रिटअनुसार जारी गरेसँगै अधिकारी बर्खास्त भएका हुन्।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले मङ्गलबार पाण्डेको मागबमोजिम हुनेगरी फैसला गरेको हो।

पाण्डेले एमालेका नेता तथा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत र नियुक्ति प्रक्रिया खारेजको माग गर्दै पाण्डे सर्वोच्च पुगेका थिए।

पाण्डेको मागबमोजिमको रिट जारी भएको सर्वोच्चले जनाएको छ।

६० सदस्यीय प्रदेससभामा २३ वैशाखमा सम्पन्न बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिएका थिए।

त्यसक्रममा ६० मध्ये ३० सदस्यले पक्षमा, २७ ले विपक्षमा र २ सदस्य तटस्थ बसेका थिए।

सभामुख कृष्ण धितालले ३० सदस्यको समर्थनलाई बहुमत मान्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि त्यसविरूद्ध निवर्तमान मुख्यमन्त्री पाण्डेले २५ वैशाखमा सर्वोच्चमा रिट दायर गरेका थिए।

रिटमा बहुमतका लागि ३१ जनाको समर्थन आवश्यक रहेकोमा ३० लाई नै सभामुखले बहुमत मानेपछि पाण्डेले नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश माग गरेका थिए।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले संविधानको धारा १६८(३) अनुसार गण्डकी प्रदेसमा मुख्यमन्त्री नियुक्त गर्न आदेश गरेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *