कोसी सरकार र पहिचान पक्षधरबीच पाँचबुँदे सहमति

काठमाडौं- कोसी प्रदेस सरकार र प्रदेस १ को पुनः नामकरण संयुक्त संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ।

शुक्रबार दुवैपक्षबीच करिब पाँच घन्टासम्म चलेको वार्तामा पाँचबुँदे सहमति जुटेको हो।

वार्तामा प्रदेस पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउने दुवै पक्षले राजनीतिक तथा संविधानसम्मत पहल र छलफल अगाडि बढाउने सहमति भएको हो।

त्यस्तै आन्दोलनरत पक्ष आन्दोलनको स्वरूप परिवर्तन गर्न सहमत भएका छन्।

आन्दोलनरत पक्षले शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउँदा सरकारको तर्फबाट कुनै पनि बल प्रयोग नगर्ने सहमति भएको छ।

यसैगरी आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको व्यवस्था प्रदेस सरकारले मिलाउने र सहिद परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने विषयमा पनि वार्तामा सहमति भएको छ।

आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ र मुद्दा फिर्ता प्रक्रिया अगाडि बढाउन प्रदेस सरकार सहमति भएको छ।

सरकारी वार्ता टोली र पहिचान पक्षधर संयुक्त संघर्ष समितिबीच फागुन १० गते अघि नै पुनः वार्ता गर्ने र आपसी समझदारीमा वार्ताको मिति तय गर्ने सझदारी भएको छ।

शुक्रबार बिहान ८ बजेदेखि सुरू भएको वार्ता दिउँसो १ बजेसम्म चलेको थियो।

सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगू, सदस्य पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेती र सदस्य सचिव आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

त्यस्तै आन्दोलनरत पक्षबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, विवश राई, लाक्पा शेर्पालगायले हस्ताक्षर गरेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *