काठमाडौं- सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समितिको कार्यदेश (टिओआर) टुंग्याउन बसेको कार्यदलको बैठक फेरि निष्कर्षविहीन टुंगिएको छ।
बिहीबार सिंहदरबारस्थित कानुन, न्यायय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठक निष्कर्षविहीन टुंगिएको हो।
यद्यपि सत्तापक्षले भने टिओआरमा शुक्रबार सहमति हुने दाबी गरेको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नामका विषयमा लचक भएको सत्तापक्षको भनाइ छ।
कार्यदलका सदस्यसमेत रहेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबार बिहान साढे ८ बजे बस्ने बैठकले सहमतिपत्रमा हस्ताक्षर गर्ने दाबी गरे।
पहिलोपटक कांग्रेस लचक भएर प्रस्तुत भएको र ‘फेस सेभिङ’ का विषयमा सत्तापक्षसँग प्रस्ताव राखेको उनको भनाइ छ।
‘रवि लामिछानेमाथि किटान गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल थोरै लचक भएर प्रस्तुत भएको छ। संसदमा उठिरहेका विषय ठीक ढंगले सम्बोधन होस् भनेर उहाँहरूले चाहनुभएको छ। यस विषयमा हामीले गठबन्धनमा कुरा राख्छौं,’ सञ्चारकर्मीसँग बर्तौलाले भने।
उनका अनुसार ‘टिओआर’ मा लामिछानेको ठाउँमा सहकारीको नाम राख्ने विषयमा कांग्रेस सकारात्मक देखिएको छ।
शुक्रबारको बैठकलाई अन्तिम मानेर ११ बजे नियमित ढंगबाट संसद सञ्चालन हुने बर्तौलाको भनाइ छ।
‘व्यक्ति केन्द्रित नगरेर सहकारीको नाम लेख्ने विषयमा करिब करिब सहमति जुटेको छ। जस्तै सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मीलगायतका सहकारीको नाम लेख्न सकिन्छ। भोलि सहमतिमा हस्ताक्षर भएकै पत्र सार्वजनिक हुन्छ,’ उनले भने।
सत्तापक्षको दाबी कांग्रेसबाट अस्वीकार
‘टिओआर’ मा व्यक्तिको नभइ सहकारीको नाम राख्ने विषयमा सहमति भएको सत्तापक्षको दाबीलाई कांग्रेसले अस्वीकार गरेको छ।
कार्यदलका सदस्यसमेत रहेका कांग्रेस सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले ‘टिओआर’ मा लामिछानेको नाम उल्लेख नभएसम्म सदनमा अवरोध जारी रहने बताए।
‘रवि लामिछानेको विषयमा छानबिन हुनुपर्छ त्यसमा दुईमत छैन। सत्तापक्षले फरक ड्राफ्ट सुनाएको छ। त्यसमा पार्टीभित्र छलफल गरेर भोलि बैठकमा राख्छौं,’ उनले भने।
परियारले गृहमन्त्री लामिछानेले विभिन्न सहकारीको रकम गोरखा मिडिया र ग्यालेक्सी टेलिभिजनमा अपचन गरेका कारण उनीमाथि छानबिन समिति माग भइरहेको बताए।
उनले भने,‘बहालमा रहँदा गृहमन्त्रीमाथि लागेको आरोपबारे आवश्यक छानबिन हुन सक्दैन भन्ने हाम्रो बुझाइ छ। जसका बारेमा हामीले माग उठाएका छौं, त्यहाँ नपुगेसम्म हाम्रो अडान कायमै रहनेछ।’
गोलमटोला भाषा राखेर छानबिन अगाडि बढ्न नसक्ने उनले प्रष्ट पारे।
‘गृहमन्त्री अपचलनमा सहभागी हुनुहुन्छ। बरू यसलाई कांग्रेसकै आरोप हो भनेर बुझेपनि हुन्छ। तर, सम्बन्धित व्यक्तिको विषयमा छानबिन नगर्ने हो भने सहमति हुँदैन,’ परियारले भने।
उनले फेस सेभिङ कांग्रेसलाई आवश्यक नभएको उल्लेख गरे।
Leave a Reply