काठमाडौं- कार्यकक्षबाट पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा लगिएको छ।
मंगलबार साँझ थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट पक्राउ परेका अध्यक्ष सिरोहियालाई रातारात धनुषा लगिएको हो।
मीनभवनस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएका सिरोहियालाई आजै धनुषा पठाइएको हो।
थापाथलीबाट उनकै गाडीमा अपराध अनुसन्धान कार्यालय ल्याइएका सिरोहियालाई त्यहाँबाट प्रहरीको गाडीमा धनुषा पठाइएको छ।
सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको थियो।
उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एससपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली कान्तिपुरको कार्यालय पुगेको थियो।
जिल्ला अदालत धनुषाले सिरोहियालाई पक्राउ गर्न मंगलबार प्रहरीलाई अनुमति दिएको थियो।
जिल्ला अदालतबाट अनुमित पाएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो। जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो।
सिरोहियाको नागरिकतामा उल्लेखित नम्बर अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाख तेस्रो साता जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो।
उनीविरूद्ध सर्लाहीका इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाले भने त्यो उजुरीको खन्डन गर्दै आवश्यक भए अनुसन्धान गर्न चुनौती दिएका थिए।
उजुरीका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान अगाडि बढाएको थियो। अनुसन्धान अघि बढेसँगै प्रहरीले सिरोहियालाई पक्राउ गर्न मंगलबार अदालतबाट अनुमति मागेको थियो।
सिरोहियाले हिमालय रि–इन्स्योरेन्स कम्पनीको सेयर लगत लिने क्रममा उद्योग विभागमा दिएको निवेदनसहितको कागजातमा नागरिकता नम्बर २८३९८८८६ उल्लेख गरेका थिए।
तर, उनले २०३३ सालमा जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्राप्त गरेको नागरिकताको नम्बर ३९६९८८८६ थियो। जसको पहिलो प्रतिलिपि उनले २०५७ सालमा निकालेका थिए।
सिरोहियासँग भएको नागरिकताको नम्बर धनुषाका शिवजी साहु तेलीको नाममा पनि जारी भएको पाइएको छ।
शिवजी र सिरोहिया दुवैको नागरिकता नम्बर एकै रहेको विवरण मतदाता नामावलीमा पनि उल्लेख भएको पाइएको छ।
एउटै नागरिकता नम्बर दुई जनाको पाइएपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया अनुसन्धानको दायरमा परेका हुन्।
सिरोहियाले सहकारी बचकर्ताका रकम अपचलनसम्बन्धी समाचार रोकाउन, ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरूद्ध उजुरी दिन लगाइएको दाबी गरेका छन्।
‘कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरूद्ध आफैं उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ पक्राउपुर्जी जारी भएपछि उनले विज्ञप्ति निकालेर भनेका छन्।
राज्यशक्तिको दुरूपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित पनि विचलित नहुने उनले प्रष्ट पारेका छन्।
उनले कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन्।
सिरोहियाले प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नगरी आफूविरूद्ध पक्राउपुर्जी जारी गरिएको उल्लेख गरेका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका बचतकर्ताको रकम अपचलन गरेको समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन गरिरहेका बेला अध्यक्ष सिरोहिया पक्राउ परेका हुन्।
Leave a Reply