कानुनविपरित दोस्रो विवाह, बहुविवाह मुद्दा दर्ता गर्न प्रहरीको अटेरी

भतिजी अनिसासँग पत्रकारहरूमाझ सुरेश

जनकपुरधाम- जनकपुरधाम–२४ कटैयाचौरी बस्ने राजेश ठाकुरकी छोरी अनिसाको विवाह महोत्तरी पिपरा गाउँपालिका–५ हर्दियाका श्रीनारायण ठाकुरका छोरा सुभाष ठाकुरसँग गर्न तय भयो।

दुवै पक्षको सहमतिमा २०८० वैशाख ८ गते विवाहको मिति तय भयो। नरेशले धुमधामका साथ छोरीको विहे गरे। मैथिली परम्पराअनुसार अनिशाको विवाह भयो।

विवाहको दश दिनपछि १८ वैशाखमा अनिशाको ससुरा श्रीनारायण रोजगारका लागि विदेश उड्नुपर्ने थियो। बुबालाई छोड्न सुभाष काठमाडौं गए।

बुबा विदेश उडिसकेपछि २० वैशाखमा सुभाष काठमाडौंबाट घर फर्किए। २४ गतेसम्म अनिसा–सुभाषको वैवाहिक सम्बन्ध ठीकठाक थियो।

त्यसपछि सुभाषले एक्कासी अनिसाको बुबा राजेशलाई फोन गरेर ‘म तपाईंको छोरीलाई राख्दिनँ, लिएर जानुस्’ सन्देश पठाए।

राजेशले किन नराख्ने भनेर सुभाषलाई प्रतिप्रश्न गरे।

सुभाषको जवाफ थियो,‘तपाईंकी छोरी लाटी छन्, त्यसैले राख्दिनँ।’

राजेशले आफ्नी छोरी लाटी भए नभएको पुष्टि डाक्टरले गर्ने भएकाले चेकजाँचका लागि आफू तयार रहेको बताए। तर, उनीहरूले केही सुनुवाइ गरेनन्।

सुभाषको त्यो एक–दुई मिनेटको टेलिफोन कलले राजेशको परिवारमा भुइँचालो गयो। सबै जना रनभुल्लमा परे। किन र केका लागि यस्तो भयो भनेर।

राजेश आफैं र आफन्तहरूलाई लिएर पिपरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षलाई भेटे। छोरीसँग भएको घटनाको वृत्तान्त सुनाए।

वडाध्यक्षले सुभाष र उनकी आमालाई बोलाएर विवाह गरेर अनिसालाई किन नराखेको भनेर प्रश्न गरे।

उनीहरूले फेरि त्यही जवाफ फर्काए।

वडाध्यक्षले ‘पाँच जनाले फेरि केटी हेर्ने र उनीहरूले दिने निर्णय मान्य हुन्छ कि हुँदैन?’ भनेर सुभाष र उनकी आमालाई प्रश्न गरे।

दुवै जनाले हुन्छ भने।

वडाध्यक्षले भनेअनुसार पाँच जनाको टोली आएर अनिसासँग भेटेर कुराकानी ग¥यो। सुभाषको परिवारले भनेअनुसार उनीमा कुनै समस्या त्यो टोलीले फेला पारेन।

र, उनीहरूले अनिसालाई घर भित्र्याउन सुभाष र उनकी आमालाई सुझाव दिए।

तर सुभाष र उनकी आमा अनिसालाई भित्र्याउन तयार भएनन्। कारण थियो– सुभाषको अर्को विवाह।

कतैबाट कुनै सुनुवाइ नभएपछि न्यायका लागि पहल गरिदिन भन्दै काका सुरेश ठाकुर सोमबार अनिसालाई लिएर पत्रकारहरूमाझ पुगे।

उनका अनुसार सुभाषको दोस्रो विवाह गराउन उनकी आमा, मामा अरुण ठाकुर र केटीको आमा ‘मास्टर माइन्ड’ थिए।

अनिसालाई स्वीकार गरेर घर भित्र्याउने सहमति भए पनि केटापक्ष तयार नभएपछि आफूहरू बहुविवाहको मुद्दा प्रक्रिया अगाडि बढाउन बाध्य भएको सुरेश बताउँछन्।

जिल्ला प्रहरी कार्यालयमा बहुविवाहको मुद्दा दर्ता गर्न निवेदन दिए पनि निवेदन लिन अस्वीकार गरेको सुरेशले बताए।

‘महिला सेलको सई थिए भरत ठाकुर, उहाँलाई हामीले पटक–पटक अनुरोध ग¥यौं, सँधै मिलाउँदै छु भन्नुभयो। केही सुनुवाइ भएन,’ उनी भन्छन्,‘सई भरत ठाकुर केटापक्षको आफन्त हो कि पैसाको चलखेल भएको हो मलाई थाहा भएन।’

आफूहरूले छोरीलाई बुहारीको मान्यता दिन अनुनयविनय गरिरहेकै बेला मंसिर २६ गते राति कुटपिट गरी केटापक्षले अनिसालाई जनकपुरधामको माछा बजारनजिक अलपत्र अवस्थामा छाडेर गएको सुरेशले बताए।

सुरेशले तत्काल महोत्तरीका डिएसपीलाई फोन गरेर घटनाबारे जानकारी गराए।

उनकाअनुसार डिएसपीले छोरीलाई अहिले घरमै राखेर भोलि जिल्ला प्रहरी कार्यालय आउन भनेका थिए।

२७ मंसिरमा अनिसाको परिवारले सुभाषविरूद्ध किटानी जाहेरी दर्ता गराए। तर, सुभाष भने अझै प्रहरीको फन्दामा परेका छैनन्।
प्रहरीका अनुसार सुभाष फरार छन्।

सुभाषलाई भगाउन सई भरत ठाकुरको प्रमुख भूमिका रहेको सुरेशको दाबी छ।

सुभाषले दोस्रो विवाह गरेको भनिएको केटीसँग प्रहरीले सोधपुछ गरेको छ। गर्भवती रहेकी उनले सुभाषसँग आफ्नो विवाह भएको सकारेकी छन्।

आफ्नी भतिजीसँग विवाह गरेर पनि फेरि अर्को विवाह गरेकोले सुभाषविरूद्ध बहुविवाहको मुद्दा दर्ता गर्न चाहेका छन्।

तर, मुद्दा प्रक्रियामा नगएर मिलापत्रका लागि आफूहरूमाथि दबाब आइरहेको उनको भनाइ छ।

‘मिलापत्रका लागि प्रशासनबाटै दबाब आइरहेको छ, यस्तो अन्याय गर्नेसँग के को मिलापत्र?,’ प्रश्न गर्दै सुरेश भन्छन्,‘मिलापत्र कुनै हालतमा हुँदैन, न्यायिक प्रक्रियामा जान्छौं। त्यहाँबाट जे हुन्छ त्यो स्वीकार गर्छौं।’

सुरेशका अनुसार भतिजि अनिसाको विवाहमा ३० देखि ३५ लाखसम्म खर्च भएको थियो।

बहुबिबाह कसुरसम्बन्धी कानुनी व्यवस्था

मुलुकी अपराध संहिता, २०७४ को दफा १७५ ले बहुबिबाह कसुरसम्बन्धी व्यवस्था गरेको छ।

यस्तो छ कानुनी व्यवस्था :

१७५. वहुविवाह गर्न नहुनेः (१) विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन।

(२) कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन।

(३) उपदफा ९१० वा ९२० मा जुनसुकै कुरा लेखिएको भए तापनि पति पत्नीले कानून बमोजिम अंशवण्डा गरी भिन्न भएमा पुरुष वा महिलाले पुनः विवाह गर्न सक्नेछ।

(४) उपदफा ९१० वा ९२० बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि पचास हजार रुपैयाँसम्म जरिबाना हुनेछ।

(५) उपदफा ९१० बमोजिमको विवाह स्वतः बदर हुनेछ।

(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो संहिता लागू हुनुअघि तत्काल प्रचलित कानून बमोजिम भएको विवाहको हकमा यस दफामा लेखिएको कुनै कुराले असर पारेको मानिने छैन।

 

 

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *