जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस गणतन्त्र र संघीयताविरोधी पार्टी भएको आरोप लगाएका छन्।
जनकपुरधाममा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा मंगलबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो आरोप लगाएका छन्।
आफ्नो पार्टी सिद्धान्तः गणतन्त्रवादी पार्टी रहेको तर कांग्रेस परिस्थितिवस लतारिएर गणतन्त्रसम्म आइपुगेको यादवले राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन्।
‘यो पार्टी हिजो संवैधानिक राजतन्त्रको पक्षधर थियो। परिस्थितिवस लतारिएर गणतन्त्रसम्म आयो, तर हामी सिद्धान्ततः नै गणतन्त्रवादी हौं,’ उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘गणतन्त्रजस्तै यो हिजो संघीयता र समावेशिताको विरूद्धमा थियो। अनिच्छावश मान्न बाध्य भयो।’
धर्मनिरपेक्षकता आफ्नो पार्टीको वैचारिक प्रतिबद्धा रहे पनि कांग्रेसका कैयौं नेताहरू अहिले पनि सार्वजनिक रूपमै यसका विरूद्ध रहेको उनले उल्लेख गरेका छन्।
अध्यक्ष यादवले संविधानसभामा कांग्रेसकै अडानका कारण प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुमापतिक संसदको व्यवस्था हुन नसकेको आरोप लगाएका छन्।
आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको कांग्रेस प्रमुख प्रतिपक्षीको भूमिकासमेत राम्ररी निभाउन नसकेको यादवको भनाइ छ।
यादवले वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिस्टलाई भोट दिन नचाहने जनमतले कांग्रेसलाई भोट दिँदै आएको बताएका छन्।
जसपा नेपालले कांग्रेसलाई मत दिने जनमतमाथि हस्तक्षेप गर्नुपर्ने बताउँदै उनले वैकल्पिक शक्तिको उदय भइसकेको सन्देश दिन सुझाव दिएका छन्।
अध्यक्ष यादवले कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा सहकार्य हुनसक्ने बताएका छन्।
Leave a Reply