कांग्रेसले प्रधानमन्त्री फेर्न खोजेको हो?

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नेतृत्व सम्हालेको एक वर्षपछि मन्त्रिपरिषदमा हेरफेर गर्ने चाहना राखेका थिए।

पुस १० मै केही मन्त्रीलाई हटाएर क्याबिनेटमा नयाँ अनुहार ल्याउने प्रचण्डको प्रयास थियो। गठबन्धन दलहरूको काँधमा अडिएको सरकारमा प्रचण्ड एक्लैले चाहेर मन्त्रिपरिषद हेरफेर सम्भव थिएन।

गठबन्धन दलमा सहमति जुटेन। र, मन्त्रिपरिषद हेरफेर गर्ने प्रचण्डको योजनामा तत्कालका लागि बिराम लागेको छ।

प्रचण्डले मन्त्री फेर्न चाहिरँदा सत्ता गठबन्धनकै कतिपय नेताहरूले भने प्रधानमन्त्री नै परिवर्तन गर्नुपर्ने कुरा उठाउन थालेका छन्। खास गरेर सत्ता साझेदार प्रमुख दलका नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री फेर्नुपर्नेमा जोड दिन थालेका छन्।

सभापति देउवानिकट मानिने नेता शशांक कोइरालाको पछिल्लो अभिव्यक्ति तत्काल प्रधानमन्त्री फेर्नतर्फ लक्षित छ।

हालै एउटा कार्यक्रममा कोइरालाले सरकार असफल भइसकेकाले तत्काल प्रधानमन्त्री फेरेर नेकपा (एकीकृत समाजावदी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका छन्।

पूर्वउपभासपति विमलेन्द्र निधि पनि अबको प्रधानमन्त्री एकीकृत समाजवादीका अध्यक्ष नेपाल हुने धारणा राख्दै आएका छन्।

गठबन्धनका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार पहिलो कार्यकाल प्रचण्ड, दोस्रो नेपाल र तेस्रो कार्यकालका लागि सभापति देउवा प्रधानमन्त्री हुने निधिको भनाइ छ।

यद्यपि उनले अर्का नेता कोइरालाले भनेझैं ‘तत्काल’ प्रधानमन्त्री फेर्नुपर्ने धारणा भने राखेका छैनन्।

गठबन्धनका नेताहरूका अनुसार चक्रीय प्रणालीमा प्रचण्ड २ वर्ष, नेपाल १ वर्ष र देउवा २ वर्ष प्रधानमन्त्री हुने शीर्ष नेताहरूबीच ‘भद्र सहमति’ भएको छ।

यो सहमतिअनुसार प्रचण्ड थप ११ महिना पदासीन रहनेमा कुनै द्विविधा देखिँदैन। गठबन्धनलाई जसरी पनि पाँच वर्ष टिकाउने नेताहरूको दाबीका बीच प्रधानमन्त्री फेर्ने जस्ता अभिव्यक्तिले कतै गडबडी भएको होइन भन्ने आशंका बढेको छ।

तर, गठबन्धनका नेताहरू मन्त्री फेर्ने वा प्रधानमन्त्री परिवर्तन गर्ने विषय सहमतिमै टुंगो लगाइने भएकाले नेताहरूका तर्फबाट व्यक्त भइरहेका धारणालाई ध्यान दिन नहुने बताउँछन्।

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा पार्टीका नेताहरूबाट प्रधानमन्त्री परिवर्तन गर्नुपर्ने धारणा व्यक्त भए पनि त्यो प्रसंग फरक रहेको बताए।

‘हाम्रै पार्टीका केही नेताहरूबाट यसखाले धारणा व्यक्त भएको छ,’ उनले भने,‘त्यो प्रसंगलाई हामीले नजिकबाट नियालेका छौं। तत्कालै प्रधानमन्त्री परिवर्तन हुने कुनै सम्भावना छैन।’

गठबन्धनका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसारै प्रधानमन्त्री परिवर्तन हुनेमा कुनै शंका नरहेको विश्वकर्माको भनाइ छ।

सरकारको नेतृत्वको विषयमा तीन जना शीर्ष नेताहरूबीच सहमति भएको छ। त्यो सहमति उहाँहरूसँगै छ,’ उनले थपे,‘त्यो सहमति थोरै पनि दायाँबायाँ हुँदैन। जे सहमति भएको छ, त्यही अनुसार गठबन्धनमा निर्णय हुन्छ।’

‘सरकारको नेतृत्वको विषयमा तीन जना शीर्ष नेताहरूबीच सहमति भएको छ। त्यो सहमति उहाँहरूसँगै छ,’ उनले थपे,‘त्यो सहमति थोरै पनि दायाँबायाँ हुँदैन। जे सहमति भएको छ, त्यही अनुसार गठबन्धनमा निर्णय हुन्छ।’

पार्टीका नेताहरूको अभिव्यक्ति सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि हुनसक्ने बताउँदै उनले सभापति तत्काल प्रधानमन्त्री बदल्ने पक्षमा नरहेको प्रष्ट पारे।

‘हाम्रो सभापति सहमति तोड्ने पक्षमा देखिनुभएको छैन। सहमतिमै जाऔं, सहमति नतोडौं भन्ने उहाँको भनाइ छ। प्रचण्डको एक वर्ष हो, त्यो समय चलाउन दिऔं भन्नेमा हुनुहुन्छ,’ विश्वकर्माले भने।

प्रधानमन्त्रीलाई सरकार सञ्चालनका लागि सहयोग नगर्ने मन्त्री फेर्न कांग्रेस भने बाधक नहुने उनको भनाइ छ।

‘हाम्रो पार्टीका कुनै मन्त्रीले प्रधानमन्त्रीलाई सहयोग गर्नु भएन, सरकार सञ्चालनमा अप्ठ्यारो भयो। यदि त्यस्तो छ भने मन्त्री हेरफेर गर्न हामी बाधक बन्दैनौं। तर, जहाँसम्म प्रधानमन्त्रीको कुरा हो त्यो सहमतिमै परिवर्तन हुन्छ,’ विश्वकर्मा भन्छन्।

उनले गठबन्धनको सरकार भएपछि प्रधानमन्त्री परिवर्तन हुनु स्वाभाविक विषय रहेको बताए।

गठबन्धनका अर्को दल नेकपा (एकीकृत समाजवादी) का नेताहरू पनि शीर्ष नेताहरूबीच भएको सहमतिअनुसारै सरकारको नेतृत्व परिवर्तन हुने बताउँछन्।

एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा गठबन्धनमा भएको सहमति उल्टाउने काम नहुने बताउँछन्।

प्रधानमन्त्रीका विषयमा तीन जना शीर्ष नेताहरूबीच भएको सहमति यताउति नहुने उनको भनाइ छ।

कांग्रेसका नेताहरूले प्रधानमन्त्री गर्नुपर्ने धारणा व्यक्त गरिरहे पनि यो विषय गठबन्धनभित्र प्रवेश पाइसकेको छैन। त्यस्तै सहमति तोडेर अघि बढ्नेबारे कांग्रेसको औपचारिक धारणा पनि आएको छैन।

विश्वकर्मा पार्टीका नेताहरूबाट व्यक्त भएका धारणाहरू नितान्त व्यक्तिगत रहेको बताउँछन्।

‘यो उहाँहरूको नितान्त व्यक्तिगत धारणा हो। यो विषयले न पार्टीभित्र प्रवेश पाएको छ न गठबन्धनभित्रै। कांग्रेसको पक्षबाट कुनै पनि हालतमा सहमति तोडिँदैन,’ उनले भने।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *