काठमाडौं- कतार जेलमा रहेका पूर्वभारतीय ८ जना नौसैनिकहरू रिहा भएका छन्।
भारतीय विदेश मन्त्रालयले वक्तव्य निकालेर उनीहरू रिहा भएको जनाएको हो।
नौसैनिकहरूलाई रिहा गर्ने कतार सरकारको निर्णयलाई भारत सरकारले स्वागत गरेको विदेश मन्त्रालयले जनाएको छ।
‘कतारको हिरासतमा रहेका ग्लोबल कम्पनीमा कार्यरत ८ भारतीय नागरिकको रिहाइलाई भारत सरकार स्वागत गर्दछ,’ विदेश मन्त्रालयले भनेको छ।
रिहा भएका ८ जनामध्ये सात जना भारत पुगिसकेको विदेश मन्त्रालयले जनाएको छ।
उसले भनेको छ,‘आठमध्ये सात जना भारत फर्किइसकेका छन्। हाम्रा नागरिकको रिहाइ र घर फर्किन दिन कतारको अमीरले लिएको निर्णयलाई हामी स्वागत गर्दछौं।’
८ भारतीय नागरिक पक्राउ परेपछि भारत र कतारबीच कूटनीतिक तनाब बढिरहेको थियो।
कतारले उनीहरूलाई अगस्त २०२२ मा पक्राउ गरेको थियो। तर, उनीहरू पक्राउ परेको कारणबारे कतार सरकारले हालसम्म खुलाएको छैन।
कतार सरकारले पक्राउ परेका आठै जनालाई मृत्युदण्डको सजाय सुनाएपछि भारतले त्यसकाविरूद्ध दोहामा अपिल दायर गरेको थियो।
त्यसपछि गत वर्ष कतार सरकारले भारतीय नागरिकहरूको फाँसी सजायलाई कम गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त अरब एमिरेट्स (युएई) को दुई दिवसीय भ्रमणमा जानु एक दिनअघि कतार सरकारले ८ जना भारतीय नागरिकलाई रिहा गर्ने निर्णय गरेको हो।
Leave a Reply