जनकपुरधाम- मधेस प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद विस्तार गरेका छन्।
नेकपा एमालेका थप तीन मन्त्री र एक राज्यमन्त्रीलाई सरकारमा सामेल गराउँदै मुख्यमन्त्री यादवले शनिबार मन्त्रिपरिषद विस्तार गरेका हुन्।
नवनियुक्त मन्त्रीहरूमा राजकुमार लेखी गृह, कानुन तथा सञ्चार, शत्रुध्न सिंह स्वास्थ्य तथा जनसंख्या र प्रमोदकुमार जयसवालले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै केशव राय स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त भएका छन्।
नवनियुक्त मन्त्रीहरूले शनिबार प्रदेस प्रमुख सुमित्रा भण्डारीसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन्।
योसँगै मधेस प्रदेसमा एमालेबाट सहभागी मन्त्रीहरूको संख्या चार र राज्यमन्त्री एक जना भएका छन्।
एमालेका तर्फबाट सरोज यादव यसअघि नै भौतिक तथा पूर्वाधारमन्त्री नियुक्त भइसकेका छन्।
केन्द्रमा सत्तासमीकरण फेरिएपछि नेपाली कांग्रेस बाहिरिँदा एमाले सहभागी भएको छ।
सरकारबाट बाहिरिएको कांग्रेसले शुक्रबार नै मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएको छ।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादवले प्रदेससभाबाट फेरि विश्वासको मत लिनुपर्ने भएको छ।
मुख्यमन्त्री नियुक्त गर्न समर्थन गरेको दलले समर्थन फिर्ता लिए ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
Leave a Reply