जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय सरकारबाट बाहिरिएको छ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव मन्त्री पदबाट राजीनामा दिएर सरकारबाट बाहिरिएका हुन्।
उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका यादवले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा दिएका हुन्।
यादवसँगै वन राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका छन्।
जसपा नेपाल विभाजित हुँदा कार्की पनि अशोक राईको पक्षमा जाने चर्चा चले पनि उनी यादवसँगै बसेका थिए।
जसपा नेपालका अध्यक्ष यादव अमेरिका भ्रमणमा भएकै बेला अशोक राईसहित सात जना सांसदले पार्टी विभाजन गरेर जनता समाजवादी पार्टी गठन गरेका थिए।
दल विभाजन भए पनि प्रचण्ड नेतृत्वको सरकारलाई आफूहरूको समर्थन कायमै रहने यादवले बताएका थिए।
सरकारलाई समर्थन कायमै रहने बताएको दुई दिन नबित्दै उनी राजीनामा दिएर सरकारबाट बाहिरिएका छन्।
प्रतिनिधिसभामा १२ जना सांसद रहेको जसपा नेपाल टुक्रिएपछि यादवको पक्षमा ५ र राईको पक्षमा ७ जना छन्।
Leave a Reply