उपेन्द्रको नजरमा एमाले – निर्दलीय व्यवस्थाका पञ्चहरूभन्दा पनि तल्लो स्तरको

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमाले निर्दलीय व्यवस्थाका पञ्चहरूभन्दा पनि तल्लो स्तरको रहेको बताएका छन्।

जनकपुरधाममा जारी पार्टीको महाधिवेशनको बन्दसत्रमा मंगलबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

‘निर्दलीय व्यवस्थाका पञ्चहरूभन्दा पनि तल्लो स्तरका क्रियाकलाप र चरित्रको प्रदर्शन नेपाली कम्युनिस्टहरूले गरिरहेका छन्,’ एमालेप्रति धारणा राख्दै उनले राजनीतिक प्रतिवेदनमा भनेका छन्।

अध्यक्ष यादवले वर्तमान संविधान जारी गर्दा बखत मधेसी, आदिवासी, जनजाति, थारू, मुस्लिम, खस, दलित, महिलालगायतका आन्दोलनलाई दमन गर्न एमालेको प्रत्यक्ष हात रहेको उल्लेख गरेका छन्।

एमालेले आफूलाई पहिचान, समानुपातिक समावेशी, सहभागितामूलक तथा प्रत्यक्ष लोकतन्त्र र राष्ट्रिय मुक्तिको विरूद्धमा उभ्याएको उनको भनाइ छ।

एमाले प्रवृत्तिविरूद्ध जसपा नेपालले तीब्र वैचारिक तथा राजनीतिक संघर्ष गर्नुपर्ने यादवले बताएका छन्।

उनले वैचारिक संकटका बीच नेपालका कम्युनिस्टहरू आफूलाई दार्शनिक तथा वैचारिक कम्युनिस्ट नभएर केवल राजनीतिक रूपमा मात्र कम्युनिस्ट भएको बुझिदिन आग्रह गर्दै आएको जिकिर गरेका छन्।

यादवले नेपालको कम्युनिसट आन्दोलन वैचारिक रूपले सुरूङभित्रको यात्रा गरिरहेको राजनीतिक प्रतिवेदनमा भनेका छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *