उपनिर्वाचन : इलाममा कांग्रेस र बझाङमा एमालेको अग्रता

काठमाडौं- इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले अग्रता लिएका छन्।

आइतबार सुरू भएको प्रारम्भिक मतपरिणामअनुसार खड्काले अग्रता लिएका हुन्।

फाकफोक थुम गाउँपालिका केन्द्रमा रहेको मतपत्र गन्दासम्म उनले १ हजार १५५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ७२ मत प्राप्त गरी कांग्रेसका खड्कालाई पछ्याइरहेका छन्।

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवर डकेन्द्रसिंह थेगिमले ३१३ मत ल्याउँदा रास्वपाका मिलन लिम्बुले २११ मत प्राप्त गरेका छन्।

इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि यो क्षेत्रमा शनिबार उपनिर्वाचन भएको हो।

एमालेले उपनिर्वाचनमा नेम्वाङको छोरा सुहाङलाई उम्मेदवार बनाएको छ।

२०७९ मंसिरमा सम्पन्न निर्वाचनमा कांग्रेसका खड्का झिनो मतले पराजित भएका थिए। नेम्वाङले उनलाई ११४ मतको अन्तरले पराजित गरेका थिए।

यता बझाङ प्रदेससभा क्षेत्र नम्बर १(१) मा प्रदेससभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता लिएका छन्।

भण्डारीले ७५७ मत ल्याउँदा कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत प्राप्त गरेका छन्।

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले २२६, दिलबहादुर सिंहले ११५ र राप्रपाका किशोरकुमार खड्काले ९ मत ल्याएका छन्।

कांग्रेसका प्रदेससभा सदस्य पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो। कांग्रेसबाट उम्मेदवार बनेका अभिषेक पृथ्वबहादुरका छोरा हुन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *