जनकपुरधाम- कान्तिपुर मिडिया समूहका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ।
नागरिकता किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय धनुषाकोे न्यायिक हिरासतमा रहेका सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं पठाउन लागिएको हो।
८ जेठमा पक्राउ परेका उनी हाल जनकपुरधाम–९ स्थित काव्या अस्पतालमा उपचाररत छन्।
अस्पतालका डा.एसके सिंह र डा.पंकजकुमार साहले सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं लैजान सिफारिस गरेका हुन्।
अदालतको अनुमतिपछि प्रहरीले उनलाई थापाथलीस्थित कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम ल्याएको थियो।
जिल्ला अदालत धनुषाले तीनपटक गरी अनुसन्धानका लागि सिरोहियालाई हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
दोस्रोपटक म्याद थपेकै दिन साँझ रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि उनलाई काव्या अस्पताल भर्ना गरिएको थियो।
सोमबार तेस्रोपटक अदालतमा उपस्थित गराइँदा उनलाई एम्बुलेन्समै लगिएको थियो।
अदालतले तीन दिनको म्याद थप्दै स्वास्थ्य अवस्था प्रतिकूल देखिए नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका चिकित्सकबाट परीक्षण गर्न आदेश दिएको थियो।
अदालतको यही आदेश टेक्दै अस्पतालले सिरोहियालाई एयरलिफ्ट गरेर काठमाडौं लग्न सिफारिस गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार सिरोहियालाई मेडिसिटी अस्पताल लग्ने तयारी भइरहेको छ।
Leave a Reply