आज रामनवमी, श्रद्धापूर्वक मनाइँदै

जनकपुरधाम – आज रामनवमी श्रद्धापूर्वक मनाइँदै छ।

मर्यादा पुरुषोत्तम भगवान रामको जन्मदिन भएको पौराणिक मान्यताअनुसार चैत शक्ल नवमीका दिन रामनवमी मनाइने गरिन्छ।

यस अवसरमा जनकपुरधामसहित देशभर श्रद्धा र भक्तिपूर्वक पूजाआजा गरिँदैछ।

असत्यमाथि विजयप्राप्त गरेका भगवान रामको जन्मदिनको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाआजा गर्ने गरिन्छ।

रामनवमीको अवसरमा बुधबार बिहानैदेखि यहाँको राम मन्दिर र जानकी मन्दिरमा दर्शन गर्ने श्रद्धालुहरूको भिड लागेको छ।

त्रेतायुगमा आजकै दिन अयोध्यामा भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ।

जनकपुरधामको गंगासागर, धनुषसागरलगायतका पोखरीमा श्रद्धालुहरू स्नान गरी रामगीता पाठ, अध्यात्म–वाल्मिकी–तुलसीकृत रामायण वाचन गर्ने गर्दछन्।

रामनवमीका दिन ब्रत बसेर भगवान रामको पूजाआजा गरे मनोबाञ्छित फल प्राप्त हुने जनविश्वास रहेको छ।

अयोध्याका राजा दशरथको जेष्ठ पुत्र राम विष्णुको सातौं अवतारका रूपमा जन्म लिएको र जनककी छोरी सीतासँग विवाह भएपश्चात संसारबाट पापी तथा दुष्ट राक्षसहरूको विनास गरेको मान्यता रहेको छ।

त्यस्तै आफ्नो पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा हिँड्न प्रेरणा दिएका कारण पनि रामनवमी मनाउने गरिएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

रामनवमीका लागि केही दिन अघिदेखि नै साधुसन्त र श्रद्धालुहरू जनकपुरधाम आउने क्रम सुरू भइसकेको छ। रामनवमीको अवसरमा राम मन्दिरमा पूजाआजा गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट साधुसन्तहरू यहाँ आएका हुन्।

यद्यपि विगतका वर्षहरूको तुलनामा रामनवमीको अवसरमा जनकपुरधाम आउने श्रद्धालुहरूको संख्यामा ह्रास आउँदै गएको छ।

रामनवमीलाई विशेषताा प्रदान गर्न सरकारीस्तरबाट खासै चासो नदिइएका कारण श्रद्धालुहरूको संख्यामा कमी आउँदै गएको स्थानीयको भनाइ छ।

जनकपुरधाममा रामनवमीको अवसरमा आउने साधुसन्तका लागि गुठी संस्थानले वास र खानपिनको व्यवस्थापन गर्दै आएको छ।

यसैबीच जिल्ला प्रशासन कार्यालय धनुषाले रामनवमीका अवसरमा जनकपुरधाम र एक किलोमिटर आसपासको क्षेत्रमा माछा मासुजन्य तथा मदिरा बिक्रीवितरण एवं सेवनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी रामनवमी नसकिएसम्म मासुजन्य पदार्थ तथा मदिरा बिक्रीवितरण एवं सेवनमा रोक लगाइएको जनाएको छ।

त्यस्तै रामनवमीका अवसरमा कुनै पनि सार्वजनिक गर्नुपूर्व जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने सूचनामा उल्लेख छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *