आज महावीर जयन्ती मनाइँदै

जनकपुरधाम – आज २६२३ औं महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ।

हरेक वर्ष चैत शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर रहेका जैन धर्मावलम्बीहरू विभिन्न कार्यक्रम गरी महावीर जयन्ती मनाउने गर्दछन्।

महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्त परिपालन गरेका थिए।

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ।

२६२२ वर्षअघि यसैदिन भारत बिहारको वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराको रूपमा महावीरको जन्म भएको थियो।

राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना सुरू गरेको बताइन्छ।

१२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेका जैन धर्मका जानकारहरू बताउँछन्।

मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ।

शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएको पाइन्छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *