आजदेखि संसदको हिउँदे अधिवेशन : कुन दलको कस्तो तयारी?

काठमाडौं- संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन सोमबारदेखि सुरू हुँदैछ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २२ माघदेखि संघीय संसदको हिउँदे अधिवेशन आह्वान गरेका हुन्।

हिउँदे अधिवेशन सुरू हुने पूर्वसन्ध्यामा दलहरू आ–आफ्नो हिसाबले तयारी गरेका छन्। यो अधिवेशनमा कसरी प्रस्तुत हुने विषयमा संसदीय दलको बैठक बसेर दलहरूले रणनीति तयार गरेका हुन्।

अधिवेशनमा गर्ने काम, दलको तर्फबाट प्रस्तुत गर्ने विषय तथा सांसदले राख्ने विषयको सम्बन्धमा दलहरूले तयारी गरेका छन्।

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले संविधान कार्यान्वयनसँग जुडेका विधेयकहरू तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्नेमा जोड दिएको छ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले हिउँदे अधिवेशनमा संविधान कार्यान्वयनसँग सम्बन्धित सम्पूर्ण विधेयक सदनमा ल्याउन आग्रह गर्ने निर्णय भएको बताएका छन्।

अघिल्लो अधिवेशनमा पेस भएर विचाराधीन रहेका र यस अधिवेशनमा पेस हुने सबै विधेयकहरूलाई पारित गर्ने गरी भूमिका खेल्नका साथै सदनमा नियमित उपस्थितिका लागि पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ।

त्यस्तै संक्रमणकालीन न्यायसँग सम्बन्धी विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई पनि कांग्रेसले प्राथमिकतामा राखेको छ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो अधिवेशन व्यवस्थित र विधेयक केन्द्रित बनाउने गरी तयारी भएको बताएका छन्।

उनले कार्यतालिका बनाएर सदनलाई व्यवस्थित गरिने उल्लेख गरे।

यो अधिवेशनमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारीसँग सम्बन्धित विधेयकलाई प्राथमिकताका साथ अगाडि बढाइने उनको भनाइ छ।

त्यस्तै मन्त्रीलाई सरकारको कामबारे संसदमा आएर जानकारी दिन लगाउने पाण्डेले बताए।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुशासनको मुद्दालाई पहिलो प्राथमिकतामा राखेर प्रस्तुत हुने तयारी गरेको छ।

सरकार जनताप्रति जबाफदेही र उत्तरदायी हुन नसकेका कारण देशमा भ्रष्टाचार बढिरहेको भन्दै एमालेले सुशासनको मुद्दालाई प्राथमिकताका साथ उठाउन लागेको हो।

एमालेका प्रमुख सचेतक पदम गिरीले सुशासनको मुद्दालाई आफूहरूले पहिलो मुद्दा बनाउने बताएका छन्।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले कात्तिक १६ गते मध्यरातिदेखि संसदको अधिवेशन अन्त्य गरेका थिए।

त्यसपछि आजबाट संसदको हिउँदे अधिवेशन सुरू हुन लागेको हो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *