आगलागीको विपद् : एक महिनामा हजारबढी घटना

जनकपुरधाम- गत साता महोत्तरीको मटिहानी–६ जरलहवा बस्तीमा आगलागि हुँदा सयभन्दा बढी घर पूर्णरूपमा नष्ट भएर पाँच सयभन्दा बढी मानिस विस्थापित भए।

आगलागीमा परेर गुठी संस्थान अधिनस्त जग्गामा घर बनाएर बस्दै आएका उनीहरू अहिले अलपत्र अवस्थामा छन्।

गुठी संस्थानको त्यो जग्गामा उनीहरूले पुनः घर निर्माण गर्न पाउने वा नपाउने भन्ने विषयमा अहिले विवाद चलिरहेको छ।

मंगलबार सप्तरीको महादेवा गाउँपालिका–१ चिम्की टोलमा दिउँसो एक्कासी आगलागी भयो। आगलागीमा परेर त्यो टोलका करिब दुई सय घर जलेर नष्ट हुँदा सयौं मानिस घरबारविहीन अवस्थामा पुगेका छन्।

बुधबारमात्रै काभ्रेको रोशी गाउँपालिकामा आगलागि हुँदा १५ भन्दा बढी घर जलेर नष्ट भएका छन्।

गुल्मीमा आगलागीका कारण नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। बुधबार मालिका गाउँपालिका–५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट लागेको आगोले टेलिम टावरका विभिन्न उपकरणमा क्षति पुगेको छ।

पछिल्लो समय आगलागीका घटनाहरूका यी केही प्रतिनिधि उदाहरणहरू मात्र हुन्। वैशाख लागेसँगै सुरू भएको उखर्माउलो गर्मीपछि दिनहुँ आगलागीका घटनाहरू भइरहेका छन्।

देशभर वन डढेलोको अवस्था विकराल बन्दै गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका ६५ स्थानमा वन डढेलो लागेको थियो।

डढेलो तथा आगलागीका घटनाहरूका कारण काठमाडौं, पोखरालगायतका उपत्यकामा प्रदूषण बढेर वातावरण धुम्म बनेको छ। काठमाडौंको वातावरण अत्याधिक प्रदूषित भएको भन्दै स्वास्थ्य मन्त्रालयले विनामास्क घरबाहिर ननिस्कन आग्रह गरेको छ।

वर्षा नभएमा अझै पनि डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

गएको एक महिनामा (चैत १५ देखि वैशाख १५) सम्म देशभर एक हजार २९३ स्थानमा डढेलोसहितको आगलागीका घटनाहरू भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो अवधिमा यति संख्यामा आगलागीका घटनाहरू भएको जनाएको हो।

प्राधिकरणका अनुसार यी घटनाहरूमा २२ जनाको ज्यान गएको छ भने ८१ जना घाइते भएका छन्।

गर्मीयाम सुरू भएसँगै आगलागीसहितको डढेलो ६७ जिल्लमा फैलिएको छ।

एक महिनाको अवधिमा भएका आगलागी तथा डढेलाका यी घटनाहरूमा ४९ करोडभन्दा बढीको क्षति भएको प्राधिकरणको अनुमान छ।

प्राधिकरणका अनुसार आगलागीबाट १४ र डढेलोबाट ८ जनाको मृत्यु भएको छ।

प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराईले गएको दुई सातामा आगलागी तथा डढेलोको ७४४ घटना भएका छन्।

वर्षा नभएका कारण आगलागी र डढेलोका समस्या देशव्यापी बन्न पुगेको उनको भनाइ छ।

गर्मीयाममा आगलागी तथा डढेलोका घटना हुने व्यापक सम्भावना भएकाले सतर्कता अपनाउन सरोकारवालाहरूले सर्वसाधारणसँग आग्रह गरेका छन्।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *