अर्को चुनाव आफ्नै ताकतमा एक्लै लड्छौं : थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावमा मतदातालाई रुख छापमै भोट हाल्ने वातावरण बनाउने बताएका छन्।

ललितपुरको गोदाबरीमा जारी पार्टीको महासमिति बैठकको बन्दसत्रमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

उनले संगठनलाई थप ऊर्जाशील बनाउँदै आम जनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउनसक्ने पार्टीका रूपमा पुनः स्थापित गर्नुपर्नेमा जोड दिए।

महामन्त्री थापाले निर्वाचनपछाडि गठबन्धन स्वाभाविक भए पनि त्यसअघि उपयुक्त नभएको बताए।

‘कुनै पनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा निर्वाचनपछाडि निश्चित साझा नीति तथा कार्यक्रम बनाएर सरकार सञ्चालनका लागि अन्य दलसँग तालमेल गर्ने कुरा स्वाभाविक हुनसक्छ, तर निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै कांग्रेस महासमिति बैठकबाट पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै भविष्यमा हुने आवधिक निर्वाचन आफ्नै ताकतमा एक्लै लड्न छौं र हाम्रो मतदातालाई कांग्रेसको चुनाव चिह्न रुखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं,’ उनले भने।

थापाले एउटा विशिष्ट राजनीतिक परिस्थितिमा संविधानको रक्षाका लागि कांग्रेसले निर्वाचनअगाडि गठबन्धनको नेतृत्व गर्नुपरेको उल्लेख गरे।

गत निर्वाचनमा कांग्रेसले पाँच वर्षका लागि गठबन्धनसहित मत मागेकाले यो अवधिसम्म जनतासँगको वाचा र अन्य साझेदार दलसँगको सम्झौताबमोजिम इमानदारी प्रदर्शन गर्नेमा कांग्रेस सचेत रहेको उनको भनाइ छ।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *