अब जनकपुर र बीरगन्जमा पनि ‘पठाओ राइड’ सेवा

जनकपुरधाम- राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मधेस प्रदेसको राजधानी जनकपुरधाम र बीरगन्जमा पनि उपलब्ध भएको छ।

यसअघि काठमाडौं उपत्यका र चितवनमामात्रै सीमित सेवालाई पठाओले मधेसका साथै सातै प्रदेसमा विस्तार गरेको हो।

स्वरोजगार सिर्जना र जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ काठमाडौं उपत्यकाबाहिर सातै प्रदेसमा सेवा विस्तार गरिएको पठाओका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए।

मधेस प्रदेसको जनकपुरधाम र बीरगन्जमा सेवा सुरू भइसकेको र उपत्यकाजस्तै पठाओको एपबाट राइड बुक गर्न सकिने पठाओले जनाएको छ।

पठाओले राइडर्सहरूको बुकिङ पनि सुरू भइसकेको जनाएको छ। शाखा सञ्चालनमा नआएकाले तत्काल अनलाइनमार्फत राइडर्सहरूको बुकिङ भइरहेको उसले जनाएको छ।

नजिकको सहरबाट अर्को सहरमा जान ‘इन्टर सिटी’ बुकिङसमेत गर्न मिल्ने गरी सेवाको विस्तार भएको पठाओले बताएको छ।

बाइक राइडर बन्न इच्छुकले पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत कम्पनीमा सम्पर्क गर्न सक्नेछन्।

राइडर बन्न इच्छुक व्यक्तिले नवीकरण गरिएको लाइसेन्स, बिलबुक र बिमाको कागजात पेस गर्नुपर्ने कम्पनीले जनाएको छ।

कागजी प्रक्रिया पूरा गरेर अनलाइनमार्फत तालिम लिएपछि राइडर बनेर सेवा प्रदान गर्न सकिन्छ।

मधेस प्रदेसका साथै सातै प्रदेसमा सेवा सुरू भएको पठाओले जनाएको छ।

कोसी प्रदेसको विरटानगर, दमक, उर्लाबारी, विर्तामोड, इटहरी, धरान, भद्रपुर र इनरूवामा राइड सेवा सञ्चालनमा आएको पठाओले जनाएको छ।

त्यस्तै बागमती प्रदेसको हेटौडा गण्डकीको पोखरा, लुम्बिनीको नेपालगञ्ज बुटबल र भैरहवामा पनि पठाओले सेवा सञ्चालन गरेको छ।

सुदूरपश्चिमको धनगढीमा पनि सेवा सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ।

हाल पठाओको विभिन्न सेवामा दुई लाखबढी व्यक्ति आवद्ध छन्।

१ लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी ट्याक्सी चालक र ५ हजारबढी फुड डेलिभरीमा दर्ता भएका छन्।एन्ड्रोइड र आइफोन प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा लिन सक्छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *