जनकपुरधाम- मिथिलाको महाकुम्भ नामलेसमेत चिनिने १५ दिने परिक्रमा सोमबार सकिएको छ।
जनकपुरधाममा अन्तरगृह परिक्रमा गरेसँगै यसपालिको मिथिला मध्यमा परिक्रमा सकिएको हो। अन्तरगृह परिक्रमा गएराति १२ बजेदेखि सुरू भएको थियो।
मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन जानकी मन्दिरलाई केन्द्र मानेर गरिने परिक्रमालाई अन्तरगृह परिक्रमा भनिन्छ। अन्तरगृह परिक्रमा गरे १५ दिने परिक्रमा सरह नै फल प्राप्त हुने मान्यता रहेको छ।
अन्तरगृह परिक्रमामा १५ दिनदेखि सहभागी श्रद्धालुका साथै ठूलो संख्यामा जनकपुरधाम र आसपासका स्थानीयहरू सहभागी हुने गर्दछन्।
नेपाल–भारत दुवै मुलुकको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावको प्रतीक मानिएको मिथिला मध्यमा परिक्रमाको क्रममा नेपालका ११ र भारतका तीन स्थानमा विश्राम स्थलहरु छन्।
जनकपुरबाट सुरू भएको मिथिला मध्यमा परिक्रमा भारतको कलाणेश्वर, गिरिजास्थान र विशौलमा विश्राम गर्ने गरेको छ।
यसैगरी महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन तथा धनुषाको पर्वता, औरही र धनुषाधाम पुग्ने गर्दछ।
मिथिला महात्मयमा यी विश्रामस्थलहरूको पौराणिक एवं धार्मिक महत्वबारे विशेष रूपले व्याखा गरिएको हुँदा श्रद्धालुहरूमा अटुट आस्था रहेको छ।
मिथिला महात्मयअनुसार १८ औं शताब्दीदेखि यस धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाको रुपमा मनाउन थालिएको हो।
सबैभन्दा लामो दूरीको यात्रा भनिएको मिथिला मध्यमा परिक्रमाअन्तर्गत नेपालमा १०७ र भारतमा २६ गरी कूल १३३ किलोमिटर यात्रा पैदल यात्रा गरिन्छ।
Leave a Reply