७ सांसदलाई संसदीय प्रक्रियामा सहभागी नगराउन उपेन्द्रले दिएको रिटमाथि आज सुनुवाइ

काठमाडौं- पार्टी फुटाउने सात सांसदलाई संसदीय प्रक्रियाबाट रोक्न जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सोमबार सुनुवाइ हुँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लिन लागेको विश्वासको मतसम्बन्धी प्रक्रियामा सहभागी नगराउन अध्यक्ष यादवले दायर गरेको रिटमाथि सुनुवाइ हुन लागेको हो।

प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत लिने तयारी गरेपछि जसपा नेपालका अध्यक्ष यादवले आफ्नो पार्टी फुटाउने सात जना सांसदलाई संसदीय प्रक्रियामा सहभागी नगराउन माग गर्दै आइतबार रिट दायर गरेका थिए।

रिटको पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको छ।

जसपा नेपाल फुटाएर अशोक राईको नेतृत्वमा दर्ता भएको जनता समाजवादी पार्टी (जसपा) का सात जना सांसदलाई प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनबाट रोक्न यादव सर्वोच्च पुगेका हुन्।

यसअघि सर्वोच्च अदालतले राई नेतृत्वको जसपालाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

जसपा नेपाल फुटेर दर्ता भएको जसपाको निर्णय यथास्थितिमा राख्न सर्वोच्चले जारी गरेको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनको माग गर्दै उनी सर्वोच्च पुगेका हुन्।

रिट निवेदनमा उनले जसपाका अध्यक्ष राईसहित प्रतिनिधिसभा सदस्यहरू प्रदीप यादव, नवलकिशोर साह सुडी, सुशीला श्रेष्ठ, वीरेन्द्र महतो, रञ्जु झा र हसिना खातुनलाई संसदीय प्रक्रियामा सहभागी नगराउन माग गरेका छन्।

सात जना सांसदलाई संसदीय प्रक्रियामा भाग लिनबाट रोक्न सर्वोच्च पुगेका जसपा नेपालका अध्यक्ष यादवले आइतबार नै सभामुख देवराज घिमिरेलाई समेत ध्यानाकर्षणपत्र बुझाएका छन्।

सभामुख घिमिरेलाई बुझाएको ध्यानाकर्षणपत्रमा पनि उनले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशतर्फ संकेत गर्दै सात जना सांसदलाई संसदीय प्रक्रियामा सहभागी नगराउन अनुरोध गरेका छन्।

उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका यादव सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो।

प्रचण्डले सोमबार बस्ने प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

यादव नेतृत्वको जसपा नेपाल फुटाएर ७ जना सांसदले गत वैशाख २३ गते राईको नेतृत्वमा जसपा दर्ता गराएका थिए।

निर्वाचन आयोगले २४ वैशाखमा जसपालाई नयाँ दलको मान्यता दिएको थियो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *