जनकपुरधाम- सुनकोसी–मरिण डाइभर्सन सुरूङको बुधबार ‘ब्रेक थ्रु’ गरिँदैछ।
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘ब्रेक थ्रु’ गर्न लागेका हुन्।
मध्य तराईका पाँच जिल्लामा सिँचाई र विद्युत उत्पादन गर्र्ने लक्ष्यका साथ सुनकोसी–मरिण डाइभर्सनको निर्माण थालिएको हो।
कुल १३.३ किलोमिटर लामो सुरूङको ९९.९९ प्रतिशत काम सम्पन्न भएपछि बुधबार ‘ब्रेक थ्रु’ गर्न लागिएको हो।
आयोजनाका प्रमुख मित्र बरालले सुनकोसी गाउँपालिका–७ कानढुंग्रीस्थित सुनकोसी नदी किनारमा प्रधानमन्त्री प्रचण्डले सुरूङ ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्।
आयोजनाबाट तराईका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा र ३१.७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।
आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका–२ कुसुमटारबाट १९ महिनाअघि टिबिएम प्रविधिको मेसिन प्रयोग गरेर सुरूङ निर्माण कार्य थालिएको थियो।
सुरूङ निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले पाएको थियो।
सुरूङ निर्माणका लागि मात्र कोभेकले १० अर्ब ५ करोड ६८ लाखमा ठेक्का लिएको थियो।
१३.३ किलोमिटर सुरूङ खन्न २२ महिनाको लक्ष्य लिइएकोमा ३ महिनाअगावै ‘ब्रेक थ्रु’ गर्न लागिएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते आयोजनाको शिलान्यास गरेका थिए।
Leave a Reply