काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनकारीमाथि मुद्दा लगाइएको प्रति सरकरालाई प्रश्न गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्।
जनयुद्ध गरेको माओवादी नेतामाथि कुनै मुद्दा नहुने तर मधेसी नेतामाथि किन मुद्दा चलाइएको उनको प्रश्न थियो।
अध्यक्ष ठाकुरले मधेस आन्दोलनमा भाग लिएका नेताहरू अभिराम शर्मा, रामशंकर मिश्र, सुरेश पाण्डेय, धर्मेन्द्र रायलाई महोत्तरी जिल्ला अदालतले आजीवन कैदको सुनाएकोमा असन्तुष्टि व्यक्त गरे।
पुराना पार्टीहरू हतियार उठाएरै आए पनि कुनै मुद्दा नभएको उनको भनाइ थियो।
‘पुराना पार्टीहरूले हतियार उठाएरै आन्दोलन गरे, माओवादीहरू जनयुद्धमा हतियार उठाएर आए, उनीहरूमाथि कुनै मुद्दा नहुने, अनि मधेसीमाथि किन मुद्दा लगाइयो?,’ ठाकुरले प्रश्न गरे।
उनले राज्यसँग मिल्दोजुल्दो चरित्र अदालतको पनि रहेको आरोप लगाए।
‘अदालतको पनि त्यही चरित्र हुन्छ, जो राज्यको चरित्र हुन्छ। किनकि राज्यको अङ्ग हो अदालत पनि। राज्यको चरित्रभन्दा भिन्न अदालतको चरित्र हुँदैन, अदालतको फैसलामा पनि त्यही देखिन्छ,’ ठाकुरले भने,‘यहाँ पुराना पार्टीहरू हतियार उठाएर नै आएका छन्। माओवादी तपाईंहरू जनयुद्ध गरेर नै आउनुभएको छ। तर, बताउन सक्नुहुन्छ–उनको कुनैमाथि मुद्दा छ? आन्दोलन गरेर आएका? हतियार नै उठाएर आएका? छैन। अनि मधेसीहरूमाथि नै किन? मेरो यो प्रश्न छ।’
Leave a Reply