काठमाडौं- प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले फ्लाइ दुबई उडानबाट दुबई जान लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ की १९ वर्षीया सुस्मिता गोले र पैसा पठाउने माइला स्याङ्बोलाई गरेको हो।
ब्यागेज जाँच गर्ने क्रममा झोलाभित्र साउदी रियाल १ लाख ४९ हजार र युएइ दिराम १० हजारसहित गोले पक्राउ परेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
गोलेले दिएको बयानका आधारमा माइलालाई पक्राउ गरिएको उनले बताए।
मैनालीका अनुसार सोधपुछका क्रममा गोलेले यो रकम सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ का ३४ वर्षीय माइलाले आफूलाई दिएको बयान दिएकी थिइन्।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
Leave a Reply