काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने बताएका छन्।
‘सक्षम कानुन व्यवसायी, मर्यादित बार ः न्यायपालिकाको पुनर्संरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नारासाथ नेपाल बार एसोसियसनले आयोजना गरेको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौँमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
‘लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार हो, विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने हो भन्ने कुरा पनि हामीले बिर्सन हुन्न,’ राष्ट्रपति पौडेलले भने।
राष्ट्रपति पौडेलले न्याय महसूस हुनुपर्ने पनि बताए।
‘न्याय, न्याय भनेरमात्र पनि पुग्दैन। यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनु पनि पर्दछ,’ उनले भने, ‘संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, र सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति विशेष चनाखो र सचेत हुन निर्देश गर्दछ र यसको सच्चा पहरेदार नेपाल बार एशोसियसनसँग आवद्ध विद्वान कानुन व्यवसायी नै हुन् भन्ने मलाई लाग्छ।’
न्याय आफैं हुने वा प्रकट भैहाल्ने कुनै चिज वा वस्तु नभै यो गरिने विषय भएको उल्लेख गर्दै उनले यसको स्वच्छतामा न्यायाधीश र कानुन व्यवसायीको आ–आफ्नै भूमिका हुने हुँदा बार र बेञ्चबीचमा बेलाबेलामा छलफल र अन्तरक्रिया हुने गरेमा सही प्रतिफल प्राप्त हुन सक्ने विश्वास व्यक्त गरे।
‘न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो,’ राष्ट्रपति पौडेलले भने।
उनले विभिन्न अभाव र समस्या रहे पनि त्यसको समाधान गर्दै न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाइ कसरी चुस्त बनाउने भन्ने कुरालाई बारले पनि आत्मसाथ गर्नुपर्ने धारणा व्यक्त गरे।
Leave a Reply