बर्लिन- राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीको भ्रमणका लागि शनिवार राति राजधानी बर्लिन पुगेका छन्।
उनी जेनेभाबाट रोयल डच एयरलान्सबाट प्रथम महिला सविता पौडेलका साथ जर्मनी गएका हुन्।
उनलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए।
राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न वर्लीन पुगेका हुन्।
उनले असार ३ गते जर्मनी समकक्षीसँग औपचारिक वार्ता गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
जर्मनीमा राष्ट्रपति पौडेलको पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम छ।
साथै उनको सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ।
त्यसैगरी आइतबार उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ।
राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन्।
Leave a Reply