जनकपुरधाम- भारतको उत्तर प्रदेसस्थित प्रयागराजमा जारी कुम्भ मेला भागदौड मच्च्दिा कम्तीमा १५ जनाको मृत्यु भएको छ। महाकुम्भको दोस्रो अमृत स्नान पर्व मौनी अमावस्याअघि गएराति कबिर साढे एक बजे भागदौड मच्चिएको हो।
समाचार एजेन्सी एएफपीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार चिकित्सकले नाम सार्वजनिक नगर्ने सर्तमा यो घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको बताएका छन्। घटनामा कैयौँ श्रद्धालु घाइते भएका छन्।
यद्यपि प्रशासनले भागदौडमा श्रद्धालुको मृत्यु भएको विषयमा सार्वजनिक गरेको छैन।
घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग कुरा गरेका छन्।
मुख्यमन्त्री योगीले सामाजिक सञ्जाल एक्समा ‘महाकुम्भमा प्रयागराज आएका श्रद्धालुहरू तपाईंहरू गंगाको जुन घाटमा हुनुहुन्छ त्यहीँ स्नान गर्नुस्। संगमतर्फ जाने प्रयास नगर्नुस्। तपाईं सबैले प्रशासनको निर्देशन पालना गर्नुस्। संगमको सबै घाटमा शान्तिपूर्वक स्नान भइरहेको छ। कुनै पनि अपवाहमाथि ध्यान नदिनुस्।’
विशेष सतर्कता अपनाउँदै अखाडा परिषदले अमृत स्नान रद्द गर्ने निर्णय गरेको थियो। यद्यपि भीड कम भएकाले पुनः स्नान सुरू हुने अखाडाले जनाएको छ।यसैबीच स्थिति नियन्त्रणमा आएसँगै कुम्भमा पुन: स्नान सुरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मंगलबार रातिदेखि मौनी अमावस्याको अवसरमा अमृत स्नान भइरहेको थियो। यसै क्रममा यो घटना भएको हो। प्रत्यक्षदर्शीका अनुसार एक्कासी भीडले बैरियर तोडेर एक घाटतर्फ अगाडि बढ्न थाले।
१३ जनवरीदेखि सुरू भएको महाकुम्भमा अहिलेसम्म करिब १५ करोड श्रद्धालुले गंगा स्नान गरेको बताइएको छ। मौनी अमावस्याको अवसरमा बुधबार १० करोडबढी श्रद्धालु पुग्ने अनुमान गरिएको छ।
Leave a Reply