काठमाडौं- भारतमा किसानहरू फेरि आन्दोलनमा उत्रिएका छन्।
अन्नबालीको उचित मूल्य पाउनुपर्ने मागसहित किसानहरू आन्दोलनमा उत्रिएका हुन्।
विभिन्न राज्यका किसानहरू प्रदर्शन गर्दै राजधानी दिल्लीतिर अघि बढेका छन्। उनीहरूलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
सन् २०२० मा पनि किसानहरूले दिल्लीको सीमामा कैयौं दिनसम्म धर्ना दिएका थिए। त्यसबेला उनीहरूले एउटा विवादित कृषि कानुनको विरोध गरेका थिए।
झन्डै एक वर्ष चलेको उक्त आन्दोलनमा कैयौं किसानको ज्यान गएको थियो। सरकारले विवादित कानुन फिर्ता लिएपछि किसानहरूले आन्दोलन फिर्ता लिएका थिए।
अहिले किसानहरू फेरि आफ्ना माग पूरा नभएको भन्दै सडकमा उत्रिएका हुन्।
प्रहरीले हरियाणा र पञ्जाबको सीममा प्रदर्शनकारीहरूमाथि अश्रुग्यास प्रहार गरेको थियो।
विरोधप्रदर्शन गर्न हिँडेका अधिकांश किसान पञ्जाब प्रान्तका हुन्। उनीहरूले शान्तिपूर्वक हरियाणा हुँदै दिल्ली जान खोजेको तर आफूहरू त्यसो गर्न नदिइएको बताएका छन्।
शम्भु सीमामा प्रहरी र प्रदर्शनकारीबीच झडपहरू भएको र अवस्था तनावपूर्ण रहेको बताइएको छ।
किसानहरूले आफ्नो माग पूरा नहुन्जेल दिल्लीमा प्रदर्शन गर्ने बताएका छन्।
कृषकहरूको प्रदर्शनलाई लक्षित गर्दै प्रहरीले दिल्लीसँग जोडिएका सीमा तीनतिर बन्द गरिदिएको छ।
सन् २०२० मा किसानको प्रदर्शनका कारण छिमेकी राज्यहरूलाई जोड्ने राष्ट्रिय राजमार्गहरू बन्द भएका थिए। यसपालि त्यसो हुन नदिन प्रहरीले सीमा बन्द गरिदिएको हो।
बाटो बन्द गरिएकाले दिल्लीमा मंगलबार ठाउँठाउँमा ट्राफिक जाम भयो।
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारका निम्ति किसानहरूको आन्दोलनलाई एउटा ठूलो चुनौतीका रूपमा हेरिएको छ।
कृषक संगठनका नेताहरू तथा संघीय सरकारका मन्त्रीहरूबीच दुई चरणको वार्ता भएको थियो। तर, वार्ताबाट कुनै समाधान ननिस्किएपछि किसानहरू फेरि आन्दोलनमा होमिएका हुन्।
कृषकहरूले कृषि उपजको न्यूनतम मूल्य निर्धारण गरी त्यसको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।
त्यसलाई न्यूनतम समर्थन मूल्य अर्थात एमएसपी भन्ने गरिन्छ।
उनीहरूले आफ्नो आम्दानी दोबर बनाउने प्रतिबद्धता सरकारले पूरा नगरेको भन्दै त्यो तत्काल पूरा हुनुपर्ने माग पनि राखेका छन्।
Leave a Reply