काठमाडौं- बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ।
पूर्वी रूकुमबाट काठमाडौंतर्फ गइरहेको बस बागुलङको निसीखोलामा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या ९ पुगेको हो।
बागमती प्रदेस ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो।
दुर्घटनामा २८ जना घाइते भएका छन्।
घाइतेमधये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरी अस्पतालमा भर्ना गरिएको बागलुङका डिएसपी मदन केसीले जानकारी दिए।
दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरूकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रूकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ की ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ की कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोरखाकी गीता थापा, ललितपुरका सुजन महर्जन र रूकुमपूर्व सिस्ने गाउँपालिकाका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।
बस सडकबाट १५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ७ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको छ।
घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रूकुम पठाइएको थियो।
Leave a Reply