जनकपुरधाम- मधेस प्रदेस सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मुख्यमन्त्री विश्वासको मत नदिने भएको छ।
चौथौंपटक विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री यादवलाई विश्वासको नदिने निर्णय लोसपाले गरेको हो।
लोसपा मधेस प्रदेसका अध्यक्षसमेत रहेका प्रदेस सांसद जितेन्द्र सोनलले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने परिस्थिति नरहेको बताए।
‘जसपा नेतृत्वको सरकारलाई विश्वासको मत दिने परिस्थिति सकिएको छ, हाम्रो पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैन,’ सोनलले भने।
मुख्यमन्त्री यादवले १० महिनाअघि मन्त्रिपरिषद पुनर्गठन गर्दा एउटा मन्त्रालय लिएर लोसपा पनि सरकारमा सहभागी भएको थियो।
मधेस प्रदेस सरकारमा लोसपा वन मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो।
मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णयमा पुगेको लोसपाले सरकारबाट पनि बाहिरिएको छ।
लोसपाका तर्फबाट सरकारमा वनमन्त्री रहेका रमेश कुर्मीले मंगलबारै मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका छन्।
कुर्मीको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री यादवले वन मन्त्रालय आफूमातहत राखेका छन्।
सरकारमा सहभागी नेपाली कांग्रेसले ९ चैतमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले मंगलबार विश्वासको मत लिन लागेका हुन्।
लोसपाले विश्वासको मत नदिए पनि मुख्यमन्त्री यादव बहुमतको संख्या पु¥याउनेमा ढुक्क देखिन्छन्।
१०७ सदस्यीय प्रदेससभामा बहुमतको संख्या पु¥याउन ५४ प्रदेस सांसदको समर्थन आवश्यक हुन्छ।
प्रदेससभामा एमालेका सभामुखसहित २५, जसपाका १९, माओवादी केन्द्रका ९ र नेकपा(एकीकृत समाजवादी) का ७ सांसद छन्।
सरकारमा सहभागी यी चार दलसँग भएको प्रदेस सांसदहरुको संख्या जोड्दा ५८ पुग्छ। यो बहुमतको संख्याभन्दा ४ बढी हो।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे बोलाइएको प्रदेससभा बैठकमा विवाद उत्पन्न भएपछि स्थगित भएको छ।
सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि स्थगित गरेको बैठक अझै सुरु भएको छैन।
बैठक सुरु भएलगत्तै जनमत पार्टीका प्रदेस सांसदहरुले कृषि विश्वविद्यालय शिलान्यास कार्यक्रममा आफ्ना पार्टीका सांसद एवं तत्कालीन शिक्षामन्त्री महेस यादवलगायतमाथि भएको कुटपिटसम्बन्धी घटनाको छानबिन गर्न माग गरेका थिए।
मुख्यमन्त्री यादवले घटनाको छानबिन हुने बताए पनि प्रक्रिया अगाडि नबढेको भन्दै जनमतका सांसदहरुले छानबिन नभएसम्म बैठक चल्न नदिने बताएका थिए।
जनमत पार्टीका सांसदहरुलाई प्रतिवाद गर्दै सत्तारुढ एमाले संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले व्यक्तिगत घटनालाई लिएर बैठक अवरुद्ध गर्न नमिल्ने बताएका थिए।
एमाले सांसद ठाकुरले प्रतिवाद गरेपछि जनमतका साथै नेपाली कांग्रेसका सांसदहरु रोस्टमअगाडि पुगेर नाराबाजी गरेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए।
Leave a Reply