प्रचण्ड नेतृत्वको सरकारलाई दुवै जसपाको समर्थन

जनकपुरधाम- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (नेपाल) वैधानिक रूपमै विभाजन भइसकेको छ।

अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि पेस भएको निवेदनलाई निर्वाचन आयोगले सोमबार मान्यता दिएसँगै जसपा नेपाल वैधानिक रूपमा विभाजन भएको हो।

जनता समाजवादी पार्टी, नेपालबाट ‘नेपाल’ शब्द हटाएर राईको नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आयोगले मान्यता दिइसकेको छ।

पटकपटक दल विभाजन झेल्दै आएका जसपा नेपालका अध्यक्ष यादव यसपालि अमेरिका भ्रमणमा छँदै अशोक राईहरू नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए।

प्रतिनिधिसभामा १२ सदस्य भएका अध्यक्ष यादवलाई यो संख्याले सत्ता साझेदारीमा ठूलै बल पु¥याएको थियो।

तर, यसपालि भएको विभाजनका कारण यादव नेतृत्वको जसपा नेपाल प्रतिनिधिसभामा ७ सिटमा चोइटिएको छ। जसपा नेपालका १२ मध्ये ७ सांसदहरू राई नेतृत्वको जनता समाजवादी पार्टीमा लागेका छन्।

राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरूले पार्टीमा एकलौटी ढंगबाट हिँड्ने यादवको शैली, सत्ता लोलुपता, भ्रष्टाचारलगायतका कारण दल विभाजनको निर्णयमा पुग्न बाध्य भएको बताउँछन्।

प्रतिनिधिसभा सदस्यसमेत रहेका जनता समाजवादी पार्टीका नेता प्रदीप यादव जसपा नेपालका अध्यक्ष यादवको कार्यशैलीका कारण दल विभाजनको परिस्थिति निम्तिएको दाबी गर्छन्।

यादवविरूद्ध पार्टीभित्र देखिएको असन्तुष्टिकै कारण जसपा नेपाल प्रतिनिधिसभामा पाँच सिटमा सीमित भएको राई नेतृत्वको जनता समाजवादी पार्टीका नेताहरूको भनाइ छ।

जसपा नेपालका प्रवक्ता मनिष सुमन भने चोइटिएर गएका नेताहरूले दल विभाजन गरेर आफ्नो राजनीतिक हत्या गरेको बताउँछन्।

‘पार्टीका बहुमत केन्द्रीय सदस्यहरू हामीसँगै हुनुहुन्छ, केही साथीहरू चोइटिएर जानुभएको छ, यस्तो निर्णय गरेर उहाँहरूले आफ्नो राजनीतिक हत्या गर्नुभएको छ,’ सुमनले भने।

सरकारलाई दुवै दलको समर्थन

सत्ता संघर्षका लागि फुटेको भनिए पनि जसपा नेपाल र जसपा दुवैले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई भने समर्थन दिने भएका छन्।

जसपा नेपालका नेताहरूको मंगलबार बसेको बैठकले अहिलेको गठबन्धनलाई आगामी निर्वाचनसम्म रहनुपर्ने भन्दै समर्थन कायमै राख्ने निर्णय गरेको छ।

जसपा नेपालका प्रवक्ता सुमन मिलेर हिँड्नुपर्ने मतादेशलाई कदर गर्दै जसपा नेपाल सरकारमा सहभागी भएको र अहिलेको गठबन्धनलाई निर्वाचनसम्म राख्नुपर्नेमा स्पष्ट धारणा आएको बताए।

उनले नयाँ विकल्पबारे कुनै छलफल नभएको उल्लेख गरे।

यता राई नेतृत्वको जसपा संसदीय दलको बैठकले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन कायम रहने निर्णय गरिसकेको छ।

मुलुकको स्थायित्वका लागि गठबन्धन टिकाइरहनुपर्ने भएकाले सरकारलाई आफूहरूको समर्थन कायमै रहने जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *