काठमाडौं- नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अविश्वसनीय तरिकाले गठबन्धन तोडेको बताएको छ।
मंगलबार सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले यो निष्कर्ष निकालेको हो।
प्रचण्डले अविश्वसनीय तरिकाले कपोकल्पित बहाना बनाएर गठबन्धन तोडेको बैठकले निष्कर्ष निकालेको कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले जानकारी दिए।
उनले मतदाताको साझा म्यान्डेट लिएर पनि सत्तामा पुगेका प्रचण्डले दोस्रोपटक धोका दिएको बैठकको निष्कर्ष रहेको बताए।
अघिल्लो वर्ष मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेससहितको गठबन्धनबाट चुनाव लडेर एमालेको समर्थनमा प्रधानमन्त्री बनेकोतर्फ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बेठकले संकेत गरेको हो।
कांर्यसम्पादन समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय पनि गरेको पूर्वउपसभापति निधिले बताए।
‘सरकारलाई दिएको समर्थन आजकै मितिबाट फिर्ता लिनुका साथै सशक्त प्रतिपक्षको भूमिकामा बस्ने निर्णय भएको छ,’ उनले भने।
कार्यसम्पादन समितिको बैठकमा फेरिएको राजनीतिक परिस्थितिमा प्रदेस सरकारहरूबारे पनि छलफल भएको छ।
बैठकले प्रदेसमा आफ्नो नेतृत्वमा सरकार गठनका लागि अधिकतम प्रयास गर्न प्रदेस नेतृत्वलाई जिम्मेवारी दिएको छ।
प्रधानमन्त्री प्रचण्ड गत वर्ष पुस १० गते एमालेसहितको दलमा प्रधानमन्त्री नियुक्त भएका थिए। एमाले, रास्वपा, जसपा, राप्रपा, जनमत, नागरिक उन्मुक्तिलगायतका दलहरूको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो।
कांग्रेसले समर्थन फिर्ता लिएसँग अब प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिनुपर्ने हुन्छ।
Leave a Reply