जनकपुरधाम- सरकारले देशभरि दादुरा–रुवेलाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराको सम्भावित संक्रमणको जोखिमलाई मध्यनजर गरी १५ वर्ष मुनिका सबै बालबालिकाका लागि दादुरा–रुवेलाविरूद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो।
खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गते २५ दिनसम्म सञ्चालन हुनेछ।
भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अतिसंक्रमित २१ र काठमाडौं उत्यकाका तीन गरी २४ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाइनेछ।
यस्तै ५१ जिल्लाका ९ महिनादेखि ५ वर्षसम्मका बालबालिका पनि खोप अभियानमा सहभागी हुने मन्त्रालयले जनाएको ।
खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने मन्त्रालयको भनाइ छ।
खोपका लागि सबै तयारी पूरा गरिएको र सातै प्रदेसमा गएर खोपबारे स्वास्थ्यकर्मीलाई तालिमसमेत सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, नजिकैको स्वास्थ्य संस्था वा वडा कार्यालयमा खोप केन्द्र राखिएको छ।
मन्त्रालयका अनुसार अभियानका लागि ६३ लाख ३० हजार मात्रा खोप नेपाल आइसकेको छ। ती खोपलाई प्रदेसमार्फत सबै खोप केन्द्रमा पठाइनेछ।
खोप अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा–रुवेलाविरूद्धको खोप लगाइने लक्ष्य राखिएको छ।
सरकारले सन् २०२६ सम्म दादुरा– रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालेको हो।
गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रूपमा फैलिएको थियो।
Leave a Reply